उत्पादनमुलक क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिताको माग

उत्पादनमुलक क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिताको माग

विराटनगर । प्रदेश नं. १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले उत्पादनमुलक क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिताको सवालमा सरकार स्पष्ट रहेको बताएका छन् ।

मंगलबार ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गैर सरकारी संस्था महासंघ नेपालद्वारा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले कानुनी रुपमा व्यवस्था गरिएका महिलाका हक तथा अधिकारका बिषयहरु व्यवहारमा लागु गर्ने र उनीहरुलाई उत्पादनमुलक क्षेत्रमा सहभागी गराउन प्रदेश सरकारले स्पष्ट धारणा राख्दै आएको बताए । उनले कानुनमा गरिएका नितिगत व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउन प्रदेश सरकारले स्पष्ट कार्ययोजना बमोजिम काम गर्दै आएको जानकारी दिए । यस कार्यमा प्रदेश सरकार गैसससँग सहकार्य गर्न समेत तयार रहेको मन्त्री यादवले दाबी गरे । उनले भने, ‘केही बाधा अवरोधहरु छन्् । तर, हामी हरेस खाएका छैनौं । सरकारले काम गरिरहेको छ ।’

कार्यक्रममा बोल्दै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको एबीसी नेपालकी अध्यक्ष बिष्णु शर्माले अझै पनि अधिकांश महिलाहरु असंगठित रहेको हुँदा उनीहरु अवसरबाट बञ्चित हुँदै आएको बताईन् । उनीले महिलाहरुलाई संगठित गरेर उत्पादनमुलक क्षेत्रमा सहभागी गराउने र सामाजिक सुरक्षा कोषमा समेत सुचीकृत गर्ने बिषयमा प्रदेश सरकारको भुमिका आवश्यक रहेको सुझाव दिईन् । उनीले ३३ प्रतिशत महिला सहभागिताको बिषयलाई समेत संशोधन गर्दै अब हरेक क्षेत्रमा ५१ प्रतिशत महिला सहभागिताको व्यवस्थाका लागि पहल गर्न प्रदेश सरकारलाई आग्रह गरिन् । उनीले भनिन्,‘अझैपनि धेरै महिलाहरु घरमै खुम्चिएका छन् । श्रमको सम्मान छैन् । सरकारको भुमिका खोई ?’

मंगलबार आयोजित कार्यक्रममा भने नेपालमा असंगठित क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको वर्तमान अवस्था, समस्या तथा चुनौती र समाधानका उपाय बारे छोटो कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । महिलाहरुको क्षेत्रमा काम गर्दै आएको आरेककी कार्यक्रम अधिकृृत सरस्वती दनुवारले कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यपत्रमा नेपालमा अझैपनि महिलाहरुको सवालमा समान कामको समान ज्यालाको व्यवस्था नरहेको बिषय औल्याईएको थियो । कार्यस्थलमा हुने हिंसा कानुनी प्रावधान समेत नभएको बिषय कार्यपत्रमा उल्लेख गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दै ओरेकी कार्यक्रम अधिकृत दनुवारले श्रमिक महिलाहरुको पहिचानका लागि सरकारले अभिलेखीकरण प्रणालीकोे विकास गर्नुपर्ने बताईन् । उनीले महिलाको आफ्नो शरीरमाथिको अधिकार र रोजाईको कामलाई सुनिश्चित गर्न सरकार समक्ष आग्रह समेत गरिन् ।

कार्यक्रममा कोभिड महामारीको दौरान जोखिममा परेका महिला तथा बालबालिकाको उद्वार तथा राहत कार्यमा खटिएका संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । गैर सरकारी संस्था महासंघ नेपाल र एबिसी नेपाल प्रदेश १ ले संयुक्त रुपमा अग्रपङ्क्तिमा खटिएका ८ वटा संस्थाहरुमा सम्मान–पत्र सहित सम्मान गरेको थियो । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ मोरङ, इस्टयान्ट ब्लड डोनर, माईती नेपाल, ओरेक, एबिसी नेपाल, सिविन, आफन्त नेपाल र साना हातहरु रहेका छन् ।

तस्बिरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्