चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेको बताइएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो सङ्ख्या बढेको बताएका हुन् । यहाँ थप सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् ।
चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४ सय २ जना नयाँ सङ्क्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ २ सय ३३ जना सङ्क्रमित पाइएकामा बुधबार ४ सय २ पुगेको हो ।
चीनभित्रै पनि यी सङ्क्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १ सय ६५ जना सङ्क्रमित पाइएको बताइएको छ ।
चीनमा पछिल्लो समयमा सङ्क्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । यहाँ बुधबारसम्ममा ४ हजार ६ सय भन्दा बढी नागरिक कोरोना सङ्क्रमित भइ उपचार गराइरहेका बताइएको छ ।