चैत्र ५ गतेदेखि विराटनगरमा ‘विराट राजवंशी महोत्सव मेला’ हुने : दर्जनौ राष्ट्रिय कलाकारहरु आउने

चैत्र ५ गतेदेखि विराटनगरमा ‘विराट राजवंशी महोत्सव मेला’ हुने : दर्जनौ राष्ट्रिय कलाकारहरु आउने

विराटनगर । राजवंशी समुदायको भाषा संस्कृति संरक्षण तथा सम्वर्द्धनको उद्देश्यका साथ विराटनगरमा पहिलोपटक ‘विराट राजवंशी महोत्सव मेला’ आयोजना हुने भएको छ ।

राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा विराट राजवंशी प्रगतिशील विकास समाज समितिले आउँदो चैत्र ५ गतेदेखि १५ गतेसम्मका लागि उक्त मेला आयोजना गर्ने भएको हो । विराटनगर–५ त्रिमुर्ति चौकस्थित जागृति टोल पश्चिमको खाली चौरमा मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाबारे जानकारी दिएको छ । आयोजकको अनुसार विराट राजवंशी समुदायको मौलिक खानपान, भेषभुषा र सांस्कृतिक धरोहर प्रर्दशन गरिने मेलामा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको प्रस्तुतीको व्यवस्था मिलाईएको छ । मेलामा सुगम पोखरेल, प्रमोद खरेल, शिव परियार, मेलिना राई, ज्योति मगर, कृष्ण लुइँटेल, इन्दिरा जोशी, लाहुरे, कृष्ण गुुरुङ, डम्बर नेपाली, तोक्मे बुढो (विल्शन बिक्रम राई) र माग्ने बुढो लगायतका कलाकारहरुको प्रस्तुति दिनेछन् ।

कुल ६० वटा व्यापारिक स्टलहरु रहने उक्त मेलामा बालबालिका तथा युवाहरुका लागि झुला, रोटेपिङ र ब्रेक डान्स लगायतको मनोरञ्जनात्मक खेलहरुको समेत व्यवस्था गरिने आयोजक संस्था अध्यक्ष किरण राजवंशीले बताए । उनले मेला सफलतापूर्वक सम्पन्न गर्न १३ सदस्यीय मुल समिति र उप–समितिहरु गठन गरिएको जानकारी दिए । उनले भने, ‘समितिका सदस्य र विभिन्न दाताहरुको सहयोगमा खर्च जुटाएर मेलाको आयोजना गर्न लागेका हौं । कुल ३० लाख खर्च हुने अनुमान गरेका छौं ।’

कुल ११ दिन चल्ने उक्त मेला भने विराटनगर महानगरपालिका, आसपासका गाउँपालिका र सीमावर्ती राज्यका सर्वसाधारण गरि कुल ३० हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्