धनुषा । धनुषामा पोखरीमा डुबेर एक बालकको र करेन्ट लागेर एक युवकको गरी दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरधाम उपमहानगरपालिका–११ लक्षमण अखडा बस्ने लक्ष्मण दासका १२ वर्षीय छोरा कर्णकुमार दासको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
जानकी चोकस्थित अंगराज सर पोखरीमा डुबेको अवस्थामा भेटिएका बालक कर्णलाई स्थानीयले उद्धार गरी प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मुखियापटी मुसहरनिया गाउँपालिका–६ वैरियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीय ललित यादव रहेको प्रहरीले जनाएको छ ।
भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मृतक बालक र युवक दुबै जनाको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।