मोरङमा ४३२ क्षेत्र निर्धारण गरेर कृषि गणना

<span class='c1'>मोरङमा ४३२ क्षेत्र निर्धारण</span> <span class='c2'>गरेर कृषि गणना</span>

विराटनगर । मोरङमा ४ सय ३२ गणना क्षेत्र निर्धारण गरेर कृषि गणना गरिने भएको छ ।

आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म हुने राष्ट्रिय कृषि गणनाका लागि मोरङमा १२ हजार घरपरिवारलाई नमुना मानेर गणकमार्फत विवरण संकलन गरिने भएको हो । मोरङ जिल्ला कृषि गणना समन्वय समितिले जिल्लाभर १ सय ५३ जना गणक परिचालन गर्ने भएको छ । प्रदेश तथ्यांक कार्यालय एवं प्रदेश कृषि गणना कार्यालयका प्रमुख तीर्थ बरालका अनुसार मोरङ जिल्लाका १७ स्थानीय तहमा गणकसँगै सुपरिवेक्षक परिचालन गरेर कृषि गणना गरिनेछ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कृषि गणना समन्वय समितिले गणनालाई प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय गर्नेछ । प्रत्येक स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा सहजीकरण समिति रहने प्रावधान रहेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा कृषि गणनालाई प्रभावकारी बनाउनुपर्ने सुझाव सरोकारला पक्षले दिएका छन् ।

नेपालमा पहिलो पटक २०१८ सालबाट कृषि गणना सुरु भएको थियो । सातौं कृषि गणनासम्म आईपुग्दा कृषि कार्यमा संलग्न परिवार कुल जनसंख्याको ६० प्रतिशत भएपनि कुल ग्राहथ्य उत्पादनको हिस्सा २० प्रतिशतको हाराहारीमा मात्रै देखिनु तथ्यांक संकलनमा त्रुटी हुनसक्ने आशंका अन्तरक्रियामा सरोकारवाला पक्षले उठाएका थिए । अण्डा उत्पादक संघका केन्द्रीय सदस्य बिनोद अधिकारीले तथ्यांक संकलनका लागि खटिएका गणकको सुपरिवेक्षणमा ध्यान दिएर यकिन तथ्यांक संकलन गरिनुपर्ने सुझाव दिनु भएको थियो ।

प्रदेश तथ्यांक कार्यालयका प्रमुख बरालले राष्ट्रिय जनगणनाको तथ्यांकमा मोरङमा २ लाख ७५ हजार घरपरिवारमध्ये १ लाख ३८ हजार घरपरिवार कृषि कार्यमा आधारित रहेको जानकारी दिनुभयो । त्यसलाई आधारमा गणना क्षेत्र तोकेर गणकहरुले विवरण संकलन गर्नेछन् । मोरङका १७ स्थानीय तहमा १२ हजार ९६ परिवारलाई आधार मानिने भएको छ । मिक्लाजुङ गाउँपालिकामा ५ सय ३२, लेटाङ नगरपालिमा ५ सय ८८, केराबारी गाउँपालिकामा ५ सय ८८, सुन्दरहरैंचा नगरपालिकामा ७ सय ५६, बेलबारी नगरपालिकामा ७ सय ५६, कानेपोखरी गाउँपालिका ७ सय २८, पथरीशनिश्चरे नगरपालिका ७ सय, उर्लाबारी नगरपालिका ६४४, रतुवामाई नगरपालिका ८६८, सुनवर्षी नगरपालिका ८४०, रंगेली नगरपालिका ८९६, ग्रामथान गाउँपालिका ६७२, बुढीगंगा गाउँपालिका ५ सय ३२, विराटनगर महानगरपालिका ९ सय ८०, कटहरी गाउँपालिका ६ सय १६, धनपालथान गाउँपालिका ७ सय र जहदा गाउँपालिकामा ७ सय परिवारलाइ समेटिने छ तथ्यांक कार्यालयका प्रमुख बरालले जानकारी दिनुभयो ।

राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना हुन लागेको हो । प्रत्येक दशवर्षमा हुने कृषि गणना राष्ट्रिय जनगणनापछिको दोस्रो गणना मानिन्छ । हिमाल र पहाडमा ४ आना र तराईमा ८ धुर जमिनमा कृषि कार्य गर्ने नागरिकलाई कृषकको रुपमा गणना गरिने छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग हुने मल तथा बिषादी, कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग, बाली लागेको क्षेत्रफल, उत्पादन, सिंचाई जस्ता विषय समेटिएका प्रश्नावली लिएर गणक खटाइने छ ।

अन्तरक्रिया कार्यक्रममा भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव मेघराज तिम्सिनाले प्रदेशभर राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक नियुक्ति गरेर तालिमको आयोजना गर्ने कार्यक्रम तय भईसकेको जानकारी दिनुभयो । प्रदेश कृषि गणनाका संयोजक समेत रहनु भएका सचिव तिम्सिनाले सबैको सहयोगबाट मात्रै यकिन तथ्यांक संकलन हुने बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गणनामा खटिएका गणकको सुपरिवेक्षणका लागि खटिने कर्मचारीहरुले राष्ट्रिय महत्वको कृषि गणनालाई प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले गणनामा सहयोग नगर्ने नागरिकलाई कारवाही गर्न सकिने प्रावधान समेत रहेको बताउँदै वास्तविक तथ्यांकका लागि गणकलाई विशेष तालिम दिएर खटाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्