पुलिस क्लव र मनाङ शुक्रबार दमक गोल्डकपको उपाधीका लागि खेल्दै

पुलिस क्लव र मनाङ शुक्रबार दमक गोल्डकपको उपाधीका लागि खेल्दै

झापा । झापा दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मर्स्यादी क्लब फाइनलका लागि मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पुलिस सेमिफाइनलमा गोर्खा ब्वाइज लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङ मर्स्यादि सेमिफाइनलमा माने भञ्ज्याङ दार्जीलिङ लाई हराएको थियो । बिहीबार दमक ३ स्थित खेल मैदानमा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् ।

पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले आफ्नो टिममा आफ्नै खेलाडी भएको कारण टीम को तालमेल मिल्ने भएकाले जित निकाल्न सहज हुने बताए । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफू सग राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले अघिलो दमक गोल्ड कपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने आफूहरुले जित निकाल्ने बताए ।

यसअघि २०७५ मा भएको दमक गोल्डकपको उपाधि पुलिसले जितेको थियो भने मनाङ उपविजेतामा चित्त बुझाएको थियो ।
खेलाडी लाई हौसला प्रदान गर्न प्रि म्याच कन्फ्रेन्समा पुगेका दमक नगपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीले दमक लाई खेलको हब बनाईने बताउँदै दुवै टिमलाई शुभकामना दिएका थिए ।
शुक्रबारको फाइनल खेल समापनको लागि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउने आयोजकले जनाएको छ ।

दोश्रो संस्करणको दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्