करण केसीको ह्याट्रिक सहित ५ विकेट, नेपाल फाइनलमा

करण केसीको ह्याट्रिक सहित ५ विकेट, नेपाल फाइनलमा

करण केसीले ह्याट्रिकसहित ५ विकेट लिनुका साथै दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले बिहीबार त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हराएको छ । योसँगै नेपालले एक खेलअघि नै फाइनलमा स्थान बनाएको छ ।

नेपालले यसअघि पीएनजीलाई १५ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब मलेसियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हरेर ब्याटिङका लागि निम्त्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएको थियो । २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।

आजै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका करणले ३.४ ओभरमा २१ रन दिएर ५ विकेट लिए । उनी ह्याट्रिक गर्ने पहिलो नेपाली बलर बनेका छन् । यस्तै, ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट लिने करण पहिलो खेलाडी बनेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले पनि पाँच विकेट लिएका छन् ।

पीएनजीले सुरुमै दुई विकेट गुमाए पनि चार्लेस एमिनी र टोनी उराले टिमको इनिङ्स उकासेका थिए । यी दुई खेलाडीले तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । दुईको साझेदारी सोमपालले तोडेका थिए । उनले उरालाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । उराले २२ बलमा दुई चौका र चार छक्कासहित ४३ रन बनाए । एमिनीले ४७ बलमा ९ चौकासहित ६२ रन बनाए ।

नोर्मान भनुवा र सेसे बाउले पाँचौँ विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । भनुवाले १७ रन बनाए भने बाउले २५ रन जोडे । त्यसपछि पीएनजीका कुनै पनि ब्याट्सम्यान लामो इनिङ्स खेल्न सकेनन् ।

करणबाहेक नेपालका सोमपाल र अविनाश बोहराले समान दुई विकेट लिए । सन्दीपले एक विकेट लिए ।

नेपालले मलेसियाविरुद्ध खेलेको टोलीमा एक खेलाडी परिवर्तन गरेको थियो । कुशल मल्लको स्थानमा नेपालले आदिल आलमलाई डेब्यु गराएको थियो ।

त्यसअघि, नेपालको ५०औँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रसिंहले ३२ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंहको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रीकेटमा यो चौथो अर्धशतक हो ।

दीपेन्द्रसिंहले डेब्यु गरेका आदिल आलामसँग चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंहले रोहितकुमार पौडेलसँग पनि तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे । रोहितकुमारले ४१ र आदिलले ३१ रन बनाए । आदिलले ११ बलमा तीन छक्का र एक चौका प्रहार गरेका थिए ।

घरेलु टोलीका लागि त्यसअघि कुशल भुर्तेलले १७ र आसिफ शेखले ३८ रन बनाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ४४ रन बनाए । आसिफले दोस्रो विकेटका लागि रोहितकुमारसँग २८ रनको साझेदारी गरे ।

करण केसी एक र दिलीप नाथ शून्यमा पवेलियन फर्किएका थिए । नेपालले अन्तिम ओभरमा मात्र तीन विकेट गुमाएको थियो ।

पीएनजीका कबुवा मोरेया तीन र रिले हेकुरेले दुई विकेट लिए । नोर्मान भनुवा र नोसैला पोकनाले एक/ एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्