आजदेखि विराटनगरमा विराटनगर ‘ट्रेड एक्स्पो’

आजदेखि विराटनगरमा विराटनगर ‘ट्रेड एक्स्पो’

विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा आयोजना गर्ने विराटनगर ‘ट्रेड एक्स्पो’ आजबाट सञ्चालन हुने जनाएको छ ।

चैत १८ देखि २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने भएका छन् ।

मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलन गरि एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहने एक्स्पो आयोजक समितिका संयोजक एवम् संघका उपाध्यक्ष विकासकुमार बेगवानीले जानकारी दिए ।

एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० हजार र सामान्य स्टलका लागि ३० हजार रुपैयाँ शुल्क संघले लिएको छ । एक्स्पोमा अटोमोबाइल्सका १० स्टल रहनेछन् । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ ।

एक्स्पोमा फुडकोर्टका लागि १० स्टल छन् । यसका लागि ६० हजार तोकिएको छ । एस्क्पोमा रहने सम्पूर्ण स्टलहरू बुक भएको आयोजकले जनाएको छ ।

संयोजक बेगवानीका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने लक्ष्य छ ।
एक्स्पोले उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवम् देश र विदेशमा आफ्नो बजार विस्तार र विविधिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको बेगवानीले बताए । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ । त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहनेछ ।

एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको नमुना राखेर आकर्षण थपेको छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेको छ । नौ दिन चल्ने एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरुसमेत बिक्री वितरण हुनेछन् । एक्स्पोको आयोजनाका लागि ३ करोड खर्च हुने ४५ करोडको कारोबार हुने अनुमान आयोजकको छ । एक्स्पोको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्