महालक्ष्मीको वन झाँक्री पार्क उद्घाटन, पूर्व जनप्रतिनिधिहरुलाई सम्मान

महालक्ष्मीको वन झाँक्री पार्क उद्घाटन, पूर्व जनप्रतिनिधिहरुलाई सम्मान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको वन झाँक्री पार्क उद्घाटन गरिएको छ ।

महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्क आईतबार आयोजित एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पार्कको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री राईले महालक्ष्मीको पर्यटन प्रर्वद्धनमा पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपाल, प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय सिमितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, पूर्व प्रतिनिधीको तर्फबाट अग्नीप्रशाद पौडेल र महालक्ष्मीका उप–प्रमुख मञ्जुकुमारी अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

महालक्ष्मीको झाँक्री डाँडामा २ करोड ८३ लाख ७९ हजारको लागतमा बन झाँक्री पार्क निर्माण गरिएको हो । महालक्ष्मीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्य सहित पार्क निर्माण गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । ‘हामीले वन झाँक्री पार्क बनाउने बिषय हाम्रो चुनावी घोषणापत्रमै समेटेका थियौं,’ उनले भने, ‘सोही प्रतिबद्धता अनुसार महालक्ष्मीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउन पार्क निमार्ण गरि उद्घाटन गरेका हौं ।’

पूर्व जनप्रतिनिधिहरुलाई सम्मान

धनकुटाको महालक्ष्मी नगरपालिकाले साविक गाउँ विकास समितिका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।

महालक्ष्मी वडा नं. ६ र ७ मा निर्माण गरिएको वन झाँक्री पार्क उद्घाटनको अवसर पारेर एक दर्जन भन्दा बढी पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । साविकको जितपुर, लेगुवा, मुर्तिढुंगा, मारेककटहरे, चानुवा र डाँडागाउँ गाबिस मिलेर महालक्ष्मी नगरपालिका बनेको हो । पहिले गाबिसमा हुँदा रहेका जनप्रतिनिधिहरुलाई नगरपालिकाले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा साविक अर्खौले जितपुर गाविसका अध्यक्ष अग्नीप्रसाद पौडेल, चानुवाका अध्यक्ष दिपक बुढाथोकी, मूर्तिढुंगाका अध्यक्ष घनेन्द्रराज श्रेष्ठ, मारेककटहरेका अध्यक्ष धनबहादुर पुँवर, अर्खाैलेका अध्यक्ष रुद्रबहादुर तुम्बा र मूर्तिढुंगाका अध्यक्ष निर्मल काफ्लेलाई सम्मान गरिएको छ ।

यस्तै, लेगुवाका गाँउ पञ्चायत पंञ्चप्रधान मानबहादुर मिश्र, लेगुवा गाविसका उपाध्यक्ष सोभित भण्डारी, डाँडागाउँका उपाध्यक्ष चित्रमणी कार्की, मारेककटहरेका उपाध्यक्ष जितबहादुर अधिकारी, अर्खौले जितपुर गाँउ पञ्चायतका उपप्रधानपञ्च खोजबहादुर खड्का, मूर्तिढुंगा गाँउ पञ्चायतका उपप्रधानपञ्च भक्तलाल मादेन र मारेककटहरे जिल्ला पञ्चायत सदस्य ४ नं. क्षेत्र एवं मारेककटहरे गाँउ पञ्चायत प्रधानपञ्च लिलाबहादुर केसी लगायतलाई सम्मान गरिएको हो ।

उनीहरुलाई पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश सांसद इन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी लगायतले दोसल्ला र अबिर लगाई सम्मान पत्र प्रदान गरी सम्मानित गरेका हुन् ।

लोगो बनाउँने र नगर गान रचना गर्नेलाई सम्मान

महालक्ष्मी नगरपालिकाले नगरको लोगो निर्माण गर्ने मुकुन्द प्रयास र नगर गानका रचनाकार कृष्णकुमार रानालाई सम्मान गरेको छ । नगरपालिकाको प्रतिक चिन्ह लोगो आफ्नो कलाको माध्यमबाट निर्माण गर्ने प्रयास र शव्दशील्पको माध्यमबाट नगर गान रचना गर्ने कृष्णकुमार रानालाई सम्मान गरिएको हो ।

उनीहरुलाई जनही नगद २०/२० हजारसहित प्रशंसा पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरियो । पूर्व मुख्यमन्त्री शेरधन राई, नगर प्रमुख पर्शुराम नेपाल र उप–प्रमुख मन्जु अधिकारी लगायतले उनीहरुलाई सम्मानित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्