-मनमोहन दाहाल (जेनिश)
‘जीवन जति सोचिन्छ त्यति नहुन पनि सक्छ ! जे हुन्छ राम्रैको लागि हुन्छ । यहि सोचेर धेरै कामहरु ग्रियो ।
अरुको निर्देशन र नियन्त्रणमा बसेर थुप्रै कामहरु ग्रियो । धेरै मानिसहरु भेटियो ! धेरै गाउँ, सहर, सानासाना व्यवसाय देखि ठुला-ठुला व्यवसायका व्यक्तिहरुसँग भेटियो ! सम्बन्धहरु धेरै बनाइयो । सामाजिक हुन मन लाग्यो । धेरै सामाजिक संघसंस्थामा आवद्ध भैइयो र थुप्रै सामाजिक संस्थामा आवद्ध हुने मानिसलाई भेटियो । कुरा सुनियो आफैले पनि सुनाइयो । थुप्रै सामाजिक कामहरु गर्न अघि सरियो ।
राजनैतिक क्षेत्रका व्यक्तित्वहरुसंग भेटिया,े अन्य राम्रो गर्ने नेतालाई मन पराइयो । आफूले सोचेको जस्तै काम गर्न नेतालाई भेट्न खोजियो, नजिक हुन खोजियो । कामको धौडधुपमा हिड्दै गर्दा धेरै साथीभाइहरुसंग नजिक भैइयो । नयाँ-नयाँ सम्बन्ध बनाइयो । मिलेर धेरै काम पनि गरियो, कहिलेकाही घुमियो, आफन्तहरुसंग पनि चिन्जान गरियो । सबैको योग्यता क्षमता र व्यवहारिक्ताको आधारमा कुरा गरियो । धेरै महिला साथिहरुसंग पनि नजिक भइयो । व्यक्तिगत कुराकानीका साथै कामका कुरा र कतिसंग त भविष्यको कुरा पनि गर्न भाइयो ।
यस्तै सम्बन्ध बनाउँदै जादाँ आफ्नो सोच उद्देश्य, लक्ष्य संग मेल नखाएपनि धेरे सम्बन्ध टिकाइ राखियो, आज यस्तै छ भोलि आफूले सोचेको जस्तै गर्नुपर्छ भन्दै अघि बढियो । सामाजिक क्षेत्रमा काम गर्ने साथिहरु धेरै परिवर्तन भए, कतिले राम्रो गरे, कति अन्योल मै छन्, गर्न खोज्दैछन् । कतिले आफै व्यवसाय सुरु गरे कति विदेशिए ।
राजनैतिक क्षेत्रमा आवद्ध भएका व्यक्तित्वहरु कोहिले राम्रो गर्दै छन् । कोही पाँच वर्ष अगाडी जे गर्दै थिए अहिले पनि त्यही गर्दै छन् । अझै लागि पर्दैछन् । पाँच वर्ष अगाडी राम्रो काम र भिजन देखाउने नेता अहिले पनि त्यही गफ दिइरहेका छन् ।
कामको सिलसिलामा भेट भएका, पढाईको क्रममा भेट भएका साथिभाइहरुमा ५० प्रतिशत विदेशीए १० प्रतिशत कुलतमा छन्, २० प्रतिशत अन्योलमा छन्, अन्य पढ्दै छन् । र १० प्रतिशतले व्यवसाय थालेका छन् । यसमा सम्बन्धहरु पहिले जस्तो रहेन । साथिभाइहरु भनेका थोरै साथ अनि धेरै यादहरु हुन् भनेको जस्तै भयो ।
आफन्तहरु संग ५ वर्ष पहिले देखि आफ्ना पारिवारिक अवस्था र व्यवहार र आफ्ना इच्छाहरु सुनाउँदै आइयो । आफू जे गर्दै छन् गरिरहेका छन् । कोहीकोही धेरै माथि माथि पुगे । विदेशमा पनि राम्रै आम्दानी गर्न आफन्तलाई आफू पनि विदेश आउँदा कस्तो छ भनेर सोधियो । नेपालमै प्रगति गर्न, राम्रो गर्न आफन्छहरुसंग घुलमिल हुन खोजियो ।
गाउँघरका छरछिमेकका दाजुभाईहरु लाई पनि धेरै कामको कुराहरु सुनाइयो । अन्य टोलभन्दा आफ्नो टोललाई राम्रोसंग चिनाउन लागि परियो ।
माथिका यी सबै कार्यहरु गर्न एकदमै उत्प्रेरित भएर लागियो । जे गर्न सकियो राम्रो गरियो । र अन्त्यमा यि सम्पूणर् सामाजिक व्यक्तित्व, राजनैतिक क्षेत्रका व्यक्तिहरु, पढाईका साथिहरु, कामका साथिहरु, आफन्तजन र छरछिमेकको सम्बन्धबाट आफैले केही सुरु गरियो । नयाँ माग र बजारको आवश्यक्ता अनुसार कुन क्षेत्रमा लगानि गर्दा हुन्छ भनेर अनुसन्धान गरेर आफूलाई अनुभव भएका सम्पूणर् कामहरु एक्लैले एकै ठाउँलाई क्षेत्र बनाएर थालनि गरियो ।
यसो गर्दा क्षमता, सिप, दक्षता र आत्मबलले त अगाडी बढायौँ नै, पुँजि पनि खोजियो, लगानि गरियो, काम सुरु गरियो । काम गर्दै गइयो । नयाँ-नयाँ सम्बन्धहरु बढ्दै गयो । नयाँ उमङ्ग नयाँ उत्तेजनाहरु आउँदै गए । नजानेका नभोगेका नसुनेका कुराहरु सुनिदै गइयो । यि सबै त ठिकै छ ।
व्यवसायलाई जसरी सोचियो त्यस्तो हैन रहेछ । जति माग, इच्छा, चाहाना, उद्देश्य र सम्बन्धहरु बढ्दै गए, लगानीका लागि पुँँजिको आवश्यक्ता पर्दै गयो ।
यसक्रममा आफ्नो व्यवसाय गर्न आफै सामाजिक व्यक्तित्वहरु, राजनैतिक क्षेत्रका व्यक्तित्वहरु, आफन्तहरु साथिभाइहरु संग केही सहयोग मागियो पनि तर व्यवसायलाई अघि सार्न त्यति सहयोगले नहुने रहेछ ।
बैंकिङ तथा वित्तिय सहयोग आवश्यक पर्दो रहेछ । त्यतिबेला सरकारका युवाहरु प्रतिको योजना युवा उद्यममा सरकारको अनुदान के छ सम्पूणर् कुरा अनुसन्धान गर्न थालियो । जति सरकारले युवा उद्यमलाई सहज बनाउन युवाहरुलाई हौसला दिन वित्तिय योजनाहरु एजेण्डाहरु बनाएको रहेछ । त्यो सबै किताबका पन्नाहरु स्टेजका भाषणहरुमा सिमित छन् ।
जुनै वित्तिय संस्थामा जानुस् धितो के छ ? कति छ ? यति प्रश्नले मन चिसो हुन्छ । मसंग सिप छ, योग्यता छ, क्षमता छ तर म मध्यम परिवारको मान्छे जग्गाजमिन कम छ । ऋण दिनुस् लगानी गरिदिनुस् म विदेश जान्न यहि देशमा उद्यम सञ्चालन गर्दैछु । यहि २/४ जनालाई रोजगार प्रदान गर्दैछु । अझ मजबुत ढङ्गले लाग्छु भन्नु सबै बेकार रहेछ ।
बिना धितो योजना क्षमता सिप दक्षता अनुभवको काम छैन मेरो देशमा । अनि किन विदेश जान मन नलाग्नु ? राष्ट्रियताले मात्र हुन्छ ? खोक्रो राष्ट्रवादले मात्र हुन्छ ? अब त थोरै भएको जग्गाजमिन घरपरिवारलाई मनाएर धितो राख्छु भन्दा पनि वित्तिय संस्थामा पैसा अभाव छ हरे! पैसा दिनै सक्दैन रे ! हे भगवान कुन देशमा जन्मिएछु जस्ता हुँदैन ?
पहिले खोजखाज गरेर लगानी गरिएको छ । अहिले पुनः लगानी गरिएन भने डुबिन्छ । आत्महत्या गर्न बाध्य बनाइरहेको छ मेरो देशले !
पुँजीपतिहरु संग फालाफाल पैसा छ । के पुँजिपति मात्र यो देशमा बस्न पाउने हो ? व्यवसाय गर्न पाउने हो ? हामीले यो मेरो देशमा बस्नलाई विदेश नै जानै पर्ने हो ? के हो सरकार ?
आत्महत्या गरौँ की झोला बोकेर विदेश जाऔँ सरकार ?!