मातातीर्थ औंसी : खुशी हराएका आमाहरुको मुख हेर्ने दिन

मातातीर्थ औंसी : खुशी हराएका आमाहरुको मुख हेर्ने दिन

चन्द्र पौडेल
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आजभोली अग्रेजी भाषा धेरै प्रयोग हुने भएकाले धेरैले आजको दिनलाई “मदर्स डे” मनाउने गरेका छन् । आजको दिन जन्मदिने आमाप्रति श्रद्धा, सम्मान र आदर गरी मिठा-मिठा मिष्ठानहरु खुवाएर मातातीर्थ औंसी मनाउने परम्परा छ ।

आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको बैशाख कृष्ण औंसीका दिन मनाइन्छ तर म भने आजको दिन आमाको काखबाट टाढा रहेर मातातीर्थ औंसी मनाइरहेको छु । प्वाखपलाएको चरा झैँ खुट्टा लागेपछि आफ्नो पढाई, भविष्य र परिवारले म प्रति देखेका केहि सपनाको खोजीमा ।

“आमा” एउटा यस्तो शब्द हो जो उच्चारण गर्दा नै उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफु धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आमा भगवानको अर्को रुप हो । जसलाई पुज्न हामी एक दिनलाई पर्खेर बस्छौं । अझ भनौ अहिलेको हाम्रो समाज यति ब्यस्त भयो की एउटै भुगोलमा रहेर पनि भेट्न जान नभ्याउने भईसकेका छौ अनि सामाजिक सञ्जालका भित्ताहरुमा आमाका तस्बिरहरु पोष्ट्याउदै अनेक गुनगान सहित आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनभन्दै स्टाटस लेख्छौ ।

शास्त्रमा आमालाई पिता भन्दा पनि माथिको ओहोदामा राखिएको छ । आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ आमालाई । संसारको सबैभन्दा पवित्रनाता आमा र पवित्र संम्बोधन पनि आमा नै भनेर उल्लेख गरिएको छ । तिनै आमा जसले हामीलाई यो संसार देखाइन्, नौ महिना गर्भमा राखेर अनेक पिडा सहिन् र काखमा राखेर पालन पोषण गरिन् । प्रेम सबैले गर्छन तर निःस्वार्थ कस्तो हुन्छ त्यो आमा बाटै सिकिन्छ । गहिरो प्रेमको औचित्य पनि आमा बाट नै थाहा हुन्छ ।

आफू भोकै बसेर पनि पसिनाको धारा बगाउ“दै सन्तानको पेट भर्छिन आमा र अकालबाट बचाउ“दै जवान बनाउ छिन् । संसारको हरेक चिज चिनाउँछिन् जानेजति सबै सिकाउँछिन् र साहारा दिन्छिन् । यो के हो ? त्यो के हो ? किन यस्तो भयो ? कहा“ किन ? कसरी ? कस्तो ? कति ? कहिले ? पत्रकारितामा प्रयोग गरिने ‘फाइभ डब्लु, वन-एच’ सानैमा सिकाई दिएकी हुन्छिन् । आमाको सन्तानप्रति असिमित चाहना हुँदैन । केवल मेरो सन्तान सही बाटोमा लागोस्, नाम राखोस्, ठुलो मान्छे बनोस् र जुन ठाउँमा पुगेपनि आमा, बुवा, घरपरिवारलाई सम्झिएर फर्कियोस् । बस यति चाहना हामीले कहिल्यै बुझ्न खोज्दैनौं । आफु बलियो भएपछि त्यहि साहारालाई बेसाहारा बनाउन तत्पर हुन्न्छौ हामी । टाढिएर परिवारबाट यति सम्म गर्छौ की चाडबाडको बेला आउने पाहुना जस्तो मात्र हैन् चिनजान नभएको परदेशी जस्तो बनिदिन्छौ । बुढापाकाले गाउँघरमा एउटा उखान भन्ने गरेका छन् “बुबा नभएको टुहुरो हुँदैन तर आमा छैन भने त्यो बच्चा टुहुरो हुन्छ ।” आजमलाई यो उखान बुढापाकाहरुले भोगेर अनि बुझेर राखेका रहेछन् । हरेक प्राणीका लागि आमा के हो भन्ने यहि उखानले बोल्छ । त्यसैले जन्मदिने आमाको तुलना कसैसँग हुन सक्दैन् ।

अहिलेको हाम्रो समाजमा धेरैका सन्तानले आफैँ आमाबुवालाई आश्रममा लगेर राखिदिने गरेका छन् त कोही सन्तानको अपहेलनाले गर्दा आफै गएर आश्रममा शरण लिएर बसेका छन् । के ती आमाहरु सन्तानको माया पाएर आश्रम पुगेका हुन त ? मैले मेरो जिवनकालमा जन्मदिने आमाको भन्दा कर्मदिने आमाको बढी माया पाएको छुु । मलाई जिम्मेवारी बनाउन मेरी जन्मदिने आमामात्र हैन कर्मदिने आमा पनि उत्तिकै भनौ या अझ बढी भूमिका रहयो र त आज कसैको अगाडी शीर झुकाउनु परेको छैन् । मैले मेरो अध्ययन र कार्य शिलशिलामा धेरै आमाको माया र साथ पाए । भन्छन् नी जन्मदिने आमा भन्दा कर्म दिने आमा महान हुन तर मेरो लागि सबै उत्तिकै महान हुन् । जन्मदिने आमाले मलाई यो धर्तीमा जन्मनदिनु भएको भए कर्म दिने आमाले कर्म दिने जिम्मेवारी नै कसरी पाउनु हुन्थ्यो ? मैले जीवनमा धेरै धेरै आमाहरुको माया पाएको छु । यस अर्थ म गर्व गर्छु किनकी उनीहरुले ६०-७० दशक काटेका आमाहरुले यो मनलाई विश्वास गर्नुहुन्छ । म प्रति केहि आशा राख्नुहुन्छ ।

आमाको स्वरुप धेरै छन् आमा, ममी, हजुरआमा, बज्यै, ठुलीआमा, सानीआम रगतको नाता र भावनाको भएका आमा, मितिनी आमा, सासुआमा, साथीको आमा पनि सबै आमा नै हुन् । यी सबै आमाहरुको माया, ममता, सहयोग र आर्शिवादले नै सन्तानको जीवन सफल र सुखी हुन्छ । आज मातातीर्थ औंसी मनाइरहदा“ मलाई चित्त नबुझेको कुरा आमालाई एकदिन मात्र सम्झने र माया गर्ने पट्क्कै हैन् । आमाले सानामा हामीलाई स्याहारे झै हामीले पनि हरेक पलको साहारा बन्न सक्नुपर्छ ।

अहिले सन्तान अलि जान्ने हुँदा आमा नजान्ने, अनपढ, गवार, अबुझ, फोहारी, नराम्री यस्तै लाग्न सक्छ तर सम्झनुहोस् तपाईलाई आज यहाँसम्म यस्तो बनाउँदा सम्म उहाँको कति ठुलो त्याग रह्यो । हाम्रो पहिलो गुरु नै आमा हो । भनिन्छ नी भगवान खोज्न मन्दिर जानु पर्दैन् । आमाको चरण ढोगे पुग्छ । धर्म गर्न कुनै दान गर्नु पर्दैन् आमालाई खुसी राखे पुग्छ । चार धाम सबै तीर्थ आमामै गएर समाहित भएका छन् । आमालाई गरिने माया र सम्मान नै हरेक संकटको मोचन हो । आमाको आर्शिवाद बिना पाइला टेक्न नपाउने भनाई छ । जसले हामीलाई यो धर्तीमा ल्यायो आज हामी उनलाई नै भुलिरहेका छौं । आफु भोकै बसेर भोक छैन् भनेको सन्तानले सायद बिर्से होलान् । त्यति बेला आमाको काखमै स्वर्गीय आन्नद आउँथ्यो आज त्यहि काख बिझउने सिस्नु जस्तो बनेको छ । बाल्यकालमा त्यहि आवाज मधुर लाग्थ्यो आज त्यहि आवाज कर्कस लाग्न थालेको छ अहिलेका तन्देरीहरुलाई । बाल्यकालमा आफ्ना सन्तानलाई केहि नहोस् रेखदेखमा २४ सै घण्टा स्याहार्थिन तर आज आमाका लागि सन्तानलाई कहिले औंसी आउँछ र मुख हेर्न जाम, मिठो खुवाउन जाम र राम्रो लुगा लगाइदिम भन्दै दिनहरु कुरेर बसेका छन् । अतः धेरैले त एउटै शहर, गाउँमा रहेर पनि अहिले म आउन पाउ“दिन पैसा पठाइदिएको छु जे-जे खान लाउन मन लाग्छ खर्च गर्नु है भन्दै टार्ने गरेका छन् ।

आमाको मुख हेर्न कुनै तिथि, औंसी आउनु पर्छ भन्ने छैन् । आफ्नो सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ती सम्पुर्ण आमाको सोच, साहस र क्षमतालाई सलाम छ । आमा समकालिन पुज्य हुन् । सम्पुर्ण आमाहरुप्रति असिमित माया अनि असिम शुभकामना ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्