तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व

तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व

विराटनगर । तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व विजयी भएका छन् । ६ वटा स्थानीय तहमध्ये चार वटामा पुरानै नेतृत्व दोहोरिएका हुन् ।

लालिगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ हजार १ सय ३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बू ३ हजार ३ सय ४४ मत प्राप्त गरेर पराजित भए । यसअघि पनि मावोहाङसँगै पराजय भोगेको लिम्बू दोस्रो प्रयासमा पनि असफल भए ।

लालिगुराँसको उपमेयरमा कांग्रेसका जमुना मगर कार्की विजयी भइन् । उनी गत चुनावमा एमालेबाट उपमेयरमा उम्मेदवार भइ पराजित भएकी थिइन् । यस पटक भने कांग्रेसमा प्रवेश गरेर उनले उपमेयरमा विजयी भइन् ।

यस्तै म्याङलुङ नगरपालिकामा एमालेका संजय तुम्हाम्फे पनि दोहोरिएका छन् । तुम्हाम्फेले ५ हजार १ सय १७ मत ल्याएर विजयी हुँदा काँग्रेसका अर्जुन तुम्बाहाम्फेले ४ हजार ४ सय ७८ मत प्राप्त गरे । उपमेयरमा एमालेकै जमुना सुवेदी ५ हजार २ सय १० मतसहित निर्वाचित हुँदा निवर्तमान उपमेयर पार्वती सानु डाँगी भने पराजित भइन् । एमालेले टिकट नदिएपछि उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर उम्मेदवार बन्दा ४ हजार ४ सय १४ मत प्राप्त गरिन् ।

मेन्छ्यायेम र छथर गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष नै पुरानै अनुहार दाहोरिएका छन् । मेन्छ्यायेम गाँउपालिकामा एमालेका यादवबहादुर खापुङले २ हजार ५५ मत ल्याएर विजयी हुँदा कांग्रेसका धनबहादुर लिम्बूले २ हजार २१ मत मात्रै पाएका थिए । उपाध्यक्षमा कांग्रेसकी गिता तिम्सिना दोस्रो कार्यकालका लागि १ हजार ९ सय ८६ मतसहित विजयी बन्दा एमालेकी प्रेमलता घिमिरेले ९ सय ७४ मत ल्याएकी थिइन् । अघिल्लो चुनावमा पनि उनीहरु नै विजयी बनेका थिए ।

छथर गाँउपालिकामा सन्तबीर लिम्बू र तारा खरेल नै दोहोरिएका छन । गठबन्धन हुँदासमेत यसपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको छ । सन्तबीरले ३ हजार ९ सय १५ मत ल्याएर दोस्रो कार्यकालको लागि निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर इमसङले ३ हजार ३ सय ६ मत प्राप्त गरे । उपाध्यक्षमा तारा खरेलले ३ हजार ७ सय ६२ मत ल्याउँदै विजयी बन्दा कांग्रेसका टेकराज लिम्बूले ३ हजार ६ सय २ मत प्राप्त गरे ।

तेह्रथुमको फेदाप गाउँपालिका र आठराई गाउँपालिकामा गठबन्धनले एमालेलाई पराजित गरेको छ । फेदापमा कांग्रेसका केशवप्रसाद भेटवाल विजयी भएका छन । निवर्तमान अध्यक्ष हरिप्रसाद चोङवाङले ३ हजार ८ सय ६९ मत ल्याउँदा भेटवालले ४ हजार ४१ मत ल्याएर विजयी बनेका हुन् । उपाध्यक्षमा कांग्रेसका सुनिता पहिम ३ हजार ९ सय ८५ मतसहित निर्वाचित हुँदा एमालेकी गिता थापा भने पराजित बनिन् ।

यस्तै आठराई गाउँपालिकामा कांग्रेसका दिलकुमार पाहिम विजयी बन्दा एमालेका रामचन्द्र थपलिया पराजित बने । थपलियाले ४हजार ८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज इङनाम ४ हजार ८० मतसहित विजयी भएका छन् । निवर्तमान उपाध्यक्ष रुपा कन्दङवाले ४ हजार ७० मत प्राप्त गरेर पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्