राष्ट्रिय सभा बैठक : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाउन माग

राष्ट्रिय सभा बैठक : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाउन माग

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गर्नुभएको छ । सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद डा. बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी नयाँ कडा कानुन ल्याउन माग गर्नुभयो ।

नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाली कांग्रेसका गोपालकुमार बस्नेतले राज्यले स्वच्छ र पारदर्शी कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका सदस्य नारायणदत्त मिश्रले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले नीति तथा कार्यक्रम र बजेटमा तल्ला तहका जनताको समस्यालाई सम्बोधन गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीले प्राथमिकता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

अर्का एकीकृत समाजवादीका सांसद् जयन्तीदेवी राईले दिन प्रतिदिन महिला हिंसा तथा बलात्कारका घटना बढ्दै गएको भन्दै महिलाको सुरक्षाको माग गर्नुभयो । बलात्कारीलाई कानुनी कठघरामा ल्याउन कानुन परिमार्जन गर्नुपर्ने उहाँको माग थियो ।

नेकपा (माओवादी केन्द्र) का सांसद हरिराम चौधरीले विभिन्न आन्दोलनका क्रममा थारु समुदायमाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने बताउँदै राज्यले थारु समुदायमाथि विभेद गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “राज्य जिम्मेवार पक्ष हो, राज्यले समयमै थारु समुदायको विषयलाई सम्बोधन गर्नुपर्छ ।” उहाँले जनताले अनियमितता, भ्रष्टाचार र महँगी कहिलेसम्म खेपिरहने भन्दै प्रश्न गर्नुभयो ।

यसैगरी, माओवादी केन्द्रका अर्का सांसद मायाप्रसाद शर्माले अहिले आम जनता महँगीको मारमा परेको जनाउँदै निर्वाचनसमेत महँगो बन्दै गएको बताउनुभयो । उहाँले विगतमा भएका बलात्कारका घटनाको छानबिन गर्न कानुनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्ने बताउनुभयो । माओवादी केन्द्रका जगप्रसाद शर्माले मूल्यवृद्धि, महँगी र भ्रष्टाचार अन्त्यको माग गर्नुभयो ।

नेकपा (एमाले) का सांसद सुमित्रा बिसीले स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारले महिलालाई उम्मेवारका लागि स्थान नदिएको गुनासो गर्नुभयो ।

नेकपा (एमाले) का भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महँगी ब्योहोर्न बाध्य पारेको आरोप लगाउँदै छिमेकी मुलुक भारतमा समेत सरकारले जनतालाई सहुलियत दिइरहेको बताउनुभयो ।

एमालेका भगवती न्यौपानेले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्याद संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसैगरी, जनता समाजवादी पार्टी नेपालका प्रमिलाकुमारीले बलात्कारीलाई आजीवन सजाय हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, राष्ट्रियसभाका स्वतन्त्र सदस्य डा. खिमलाल देवकोटाले बलात्कार र जघन्य अपराधमा हदम्याद हटाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्