बालेन बने काठमाडौंको मेयर, को हुन् बालेन ?

बालेन बने काठमाडौंको मेयर, को हुन् बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

को हुन् बालेन ?

३१ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी ¥यापरका रूपमा पनि चर्चित छन् । काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, ¥यापर तथा कवि–लेखक साहको जितलाई कमैले आकलन गरेका थिए । तर पुराना राजनीतिक दलहरुलाई चुनौती दिंदै उनी काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका छन् । सुरुवातमा विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका थिए । पछि क्रमशः अन्य क्षेत्रका अगुवाहरु पनि उनको पक्षमा खुल्दै गए । मेयरका अर्का प्रतिस्पर्धी केशव स्थापितले उनलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिन थालेपछि साह झनै चर्चामा आए । उनले स्थापित आफ्नो ब्राण्ड एम्बेसडर भएको अभिव्यक्ति दिएका थिए । आफ्नो इञ्जिनियरिङ पृष्ठभूमिका कारण काठमाडौंको विकासका लागि आफू योग्य उम्मेदवार भएको उनको बुझाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्