मङ्कीपक्स : ज्वरो आएको तीन दिनभित्र दाग वा डाबर देखिए तत्काल सम्पर्क गर्न आग्रह

मङ्कीपक्स : ज्वरो आएको तीन दिनभित्र दाग वा डाबर देखिए तत्काल सम्पर्क गर्न आग्रह

विराटनगर । मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिम भएपनि अहिलेसम्म संक्रमित फेला नपरेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको तर सचेत हुनुपर्ने बताए। यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो।

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्छ। त्यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्छ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्छ।
ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखिन्छ।

त्यस्तै टाउको, ढाड र मासपेशीदुख्नु, शरीरका ग्रन्धि बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्छ। बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ।

रोगबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ। मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्