समृद्ध गणतन्त्र नेपाल निर्माणका लागि एकताबद्ध हुनुपर्नेमा उपराष्ट्रपतिको जोड

समृद्ध गणतन्त्र नेपाल निर्माणका लागि एकताबद्ध हुनुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताउनुभयो ।

गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उहाँले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उहाँको विश्वास छ ।

गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपतिले घाइते योद्धाको स्वास्थ्यलाभको कामनासहित उहाँहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । उहाँले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

गणतन्त्र प्रारम्भको १४ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूला–ठूला उथलपुथल भएको उल्लेख गर्दै उहाँले फलस्वरुप सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान बनेको बताउनुभयो । संविधानबमोजिम दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्मुखमा रहेको जनाउँदै उपराष्ट्रपतिले संविधानले महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायलाई थुप्रै अधिकार दिइएको बताउनभयो ।

राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने भन्दै उहाँले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । “यति गर्न सकियो भने जनताको जीवन परिवर्र्तन तथा देशको विकास र समृद्धिमा कुनै ढिला हुँदैन । यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ”, उहाँले भन्नुभएको छ, “गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्छ । यसतर्फ म सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्