विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गर्ने तयारी

विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर शिल्पा कार्कीले मानव स्वास्थ्यसँगै शहरमा प्रदुषण बढाएको भन्दै कडाई गर्ने बताएकी हुन् ।

सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले बिक्री वितरणमा कडाइ गरिने दावी गरिएको छ । उपमेयर कार्कीले सुर्तीजन्य पदार्थ नियमन नियन्त्रण ऐन २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुका साथै सचेतनामूलक प्रचारप्रसार र अनुगमनलाई तीव्र पार्ने बताइन् । “महानगरले ऐन, नियमलाई कडाइका साथ लागू गर्छ,” उनले भनिन्, “महानगरभित्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्नुका साथै सेवनमा समेत रोक लगाइनेछ । त्यसका लागि हामी छलफल गर्छौं, समिति बनाउन परे बनाउँछौं, माइकिङ गर्न परे गर्छौं ।”

यसैबीच, नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यांकमा देखिएको छ । सुर्तीजन्य पदार्थको सेवन गरेकै कारण बर्षेनी नेपालमा २५ हजार मानिसको मृत्यु हुने गरेको छ भने विश्वमा प्रति ८ सेकेण्डमा एकजनाको मृत्यु हुने गरेको छ । स्वास्थ्य महाशाखाका अमरदीप देवले धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखिएको बताए ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले नसर्ने रोगहरू मधुमेह, हृदयाघात, मस्तिष्क घात र क्यान्सर लाग्नुमा सुर्तीजन्य पदार्थको सेवन प्रमुख कारण रहेको प्रस्ट्याए । फोक्सोको क्यान्सरबाट मृत्यु भएका मानिसहरूमध्ये ७१ प्रतिशतको मृत्युको कारण धुम्रपानको सेवन रहेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी वक्ताहरूले महानगरक्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य र धुम्रपानको प्रयोग बढ्दो रहेकाले त्यसलाई नियन्त्रण न्यूनीकरण गर्न महानगरपालिकाले विशेष योजना बनाएर काम गर्नुपर्ने सुझाव दिएका थिए । १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले बढीजसो सुर्तीजन्य पदार्थ सेवन तथा धुम्रपान गर्ने गरेको कार्यक्रममा बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्