कञ्चनपुर । बेलौरी नगरपालिका-१० शिवनगर बस्ने ३८ वर्षीय बलराम चौधरीलाई करिब १२ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतको सिमाना हुँदै नेपालतर्फ शंकास्पद रूपमा आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-९ स्थितबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-९ बस्ने १८ वर्षीया किशोरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । टाउँकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बोकेको ढाकी खेतमा घोप्टयाई सो ठाउँबाट भागेकी उनलाई सोही नगरपालिका-९ बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-८ महेश्वरी खेल मैदान नजिक मोटर ग्यारेजमा पार्किङ गरी राखेको बा.४ ख ९३१४ नम्बरको टिपरबाट करिब ९ सय ७० ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित टिपर चालक भक्तपुर नगरपालिका-४ नासमना बस्ने २८ वर्षीय बीरेन्द्र राजभण्डारी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टिपरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले टिपर तलासी गर्दा टिपरको ड्यास बोर्डमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ जगातीबाट करिब ५ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित काठमाडौं महानगरपालिका-१६ कपुरधारा बस्ने ३४ वर्षीय असगर ऋषिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । साँगाबाट भक्तपुरतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२-०२९ प ६३१३ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक ऋषिलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-९ बङराकटानबाट करिब ५ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत पलिया खिरि बस्ने २३ वर्षीय मंगल सिंह रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-२ घर भएका १८ वर्षीय किशोरको कोठाबाट ४ जनालाई करिब १० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरको कोठामा लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-२ बस्ने १८ वर्षीया किशोरी समेत उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।