साउन १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य नहुने:विभाग

साउन १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य नहुने:विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा नागरिकमा पर्याप्त सूचना पुर्याउन नसकेको भन्दै क्षमायाचना गरेको छ ।

मंगलबार सूचना जारी गर्दै विभागले २० गते निकालिएको सूचनाले आम सेवाग्राहीमा पर्न गएको द्वविधा र त्यसबाट उत्पन्न असुविधाप्रति क्षमायचना गरेको हो । उक्त सूचना नेपाल सरकारबाट मिति २०७८ कार्तिक २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाको परिपुरक सुचना भएको व्यहोरा स्पष्ट गरिएको छ । २०७९ जेष्ठ २० गतेको विभागको सूचना मिति २०७८ कार्तिक २२ गतेको राजपत्रको सूचनाको निरन्तरता मात्र हो । यस सूचना मार्फत २०७९ श्रावण १ गतेका दिन बिहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आशय विभागको अलिकति पनि होईन । विभाग यस विषयमा प्रष्ट छ कि दिईएको ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सवै साधनमा त परै जावस् अहिलेकै गतिमा नम्बर प्लेट जडान हुने हो भने सम्झौता बमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुने सक्ने देखिन्छ । तर २०७८ कार्तिक २२ गतेको राजपत्रको सूचना बमोजिम जो जसले इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने अनुगमन भने गर्नुपर्ने देखियो । किनकी इम्बोस्ड नम्बरप्लेट जडान ऐच्छिक विषय होईन र सीमित समयमा यो कार्य पुरा गर्नको लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी भईसकेको छ ।’

विभागका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा आगामी साउन १ गतेबाट अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनिएका सवारीमा त्यस्तो नम्बर प्लेट भए/नभएको अनुगमन गरिने जनाइएको छ ।

२०७८ कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सार्वजनिक, पर्यटक निजी, सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्