महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन, विरामीलाई नि:शुल्क औषधी उपचार

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन, विरामीलाई नि:शुल्क औषधी उपचार

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको उपमेयर शिल्पा निराला कार्कीले मंगलबार उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । विराटनगर वडा नम्बर ११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ । औषधिसहित सबै सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर हाल एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि आगामी दिनमा सबै वडामा सेवा विस्तार गर्ने उपमेयर कार्कीले बताउनुभयो । उपमेयर कार्कीले सम्पूर्ण महानगरलाई प्रतिनिधित्व हुनेगरी विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा महानगरका प्रशासकीय अधिकृत उमेश बस्नेतले सेवा केन्द्रबाट महानगरवासीले बढीभन्दा बढी लाभ प्राप्त गर्ने बताउनुभयो । उहाले आगामी दिनमा महानगरका १९ वटै वडामा आयुर्वेद सेवा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हालको जनशक्ति र भौतिक संरचनाका आधारमा दैनिक २५ जनालाई सेवा दिन सकिने महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । बिरामी जाँच, औषधि वितरणसँगै हाडजोर्नी दुखाइ लगायतका समस्याको उपचारसमेत हुनेछ । त्यस्तै पञ्चकर्म र पूर्वकर्मको समेत सुविधा आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध हुने केन्द्रले जनाएको छ ।

कार्यक्रममा विराटनगर ११ वडाध्यक्ष तिथेन्द्र न्यौपाने, स्वास्थ्य महाशाखाका सहसंयोजक राजेन्द्र कुइँकेल, जिल्ला आयुर्वेद केन्द्रका चिकित्सिक डा.निशान्त ढकाल लगायतले आयुर्वेद चिकित्साका विषयमा आ–आफ्ना धाराणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्