लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

लमजुङ । लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ ।

यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गण्डकी प्रदेश पोखराको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत स्वास्थ्य बीमा कार्यक्रम अनुसार लमजुङमा पनि कार्यक्रम सञ्चालन भएको हो ।

स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका अनुसार सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन र थारुहट आन्दोदनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका र अस्पतालका नियमित डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले उक्त सेवा पाएका छन् । सम्बन्धित व्यक्ति र उनको परिवारले उक्त सुविधा पाएका छन् । सरकारले पाँच जनासम्मको परिवारलाई तीन हजार पाँच सय रुपियाँ तिरेर स्वास्थ्य बीमाको व्यवस्था गर्दै आएको छ । ती लक्षित व्यक्तिको र परिवारको भने सरकारले निःशुल्क बीमा गरिदिएको हो ।

वडा कार्यालय वा वडामा रहेको दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा भइरहेको छ । यसअघि ७५ जनाको स्वास्थ्य बीमा भइसकेको र प्रदेशमा पठाइसकिएको छ । अन्यको बीमा हुँदै छ । ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति मात्रै एक हजार बढी रहेको अनुमान छ । उनीहरुको बीमाको प्रक्रिया अघि बढेको छ । डाइलेसिस सेवा लिइरहेका व्यक्तिहरुका लागि भने सम्बन्धित अस्पतालको सिफारिस पत्र र अन्यको हकमा सम्बन्धित सरकारी निकायबाट विवरण पुष्टि हुने प्रमाण तथा परिचय पत्र संलग्न हुनपर्ने स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका जिल्ला संयोजक अनुपमा रेग्मी पौडेलले बताउनुभयो ।

उहाँका अनुसार करिव ६० प्रतिशतले स्वास्थ्य बीमा गरिसकेका छन् । जिल्लाका ७५ वटै वडा कार्यालयमा दर्ता सहयोगी छन् । उनीहरु मार्फत बीमा भइरहेको छ । असार १५ गतेसम्म बीमा गर्ने व्यवस्था रहेको जनाएको छ । लक्षित नागरिकलाई वडा कार्यालयमा रहेको दर्ता सहयोगीमार्फत बीमा गराउन स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्