पिताजीको सृष्टि समाप्त गरेर विराटनगरको सडकमा प्रतिमा

पिताजीको सृष्टि समाप्त गरेर विराटनगरको सडकमा प्रतिमा

इतिहास बुद्धिमता र मुर्खता दुवै कारण बन्दछ । यसरी निर्माण हुने इतिहासको चर्चा सकारात्मक र नकारात्मक दृष्टिकोणसँग जोडेर हुने गर्दछ । विराटनगर अहिले त्यहि इतिहासका दुई पक्षबाट विचारबिमर्शमा उभिएको छ । वि.सं. १९८० को दशकमा मातृका, बिपी, र गिरिजाका पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घरको नाम कोइराला निवास रह्यो । यसको इतिहास प्रजातान्त्रिक आन्दोलनसँग मात्रै जोडिएन । विराटनगरको विकास र औद्योगिक नगरी निर्माणसँग पनि जोडियो । जसले देशलाई फड्को मार्न हात दियो, साथ दियो र नागरिकको आवाजलाई केन्द्रीतकृृत बनायो ।

हुन त विराटनगर कोइराला परिवारसँगको सम्बन्धमा मात्रै उभिएको छैन । कम्युनिस्ट नेता मनमोहन अधिकारीदेखि पञ्चायती व्यवस्थाका समर्थक नगेन्द्रप्रसाद रिजाल पनि प्रधानमन्त्री भएको थलोको रुपमा चिनिन्छ । तर, कोइराला परिवारसँगको राष्ट्रिय महत्व विपी र गिरिजाका कारण बलियो बन्यो । जसको इतिहास बुद्धिमतापूर्वक समिक्षा गर्न लायक छ ।
यस्तो बलियो इतिहास रहेको कोइराला निवास भने छिन्नभिन्न भयो । पिताजीको सृष्टिमा व्यापारिक घरहरु बने । निवासको नाममा केहि बचेखुचेको जग्गा बाहेक केहि रहेन । पिताजीले जग बसाएको घरमा नाति तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला छन् । नातिनी अथवा गिरिजापुत्री सुजाता कोइरालाले गिरिजाप्रसादको नाममा फाउण्डेशन बनाएकी छिन् ।

करिब डेढ बिघाहा जमिन सन्ततिद्वारा टुक्राटुक्रा पारेर बेचियो । निवाससँग जोडिएको नागरिकको नाता पनि विस्तारै कमजोर हुँदैगयो । एकै पिताका तीन छोरा प्रधानमन्त्री (मातृकाप्रसाद, विपी र गिरिजाप्रसाद) बनेको घर ओझेलमा प¥यो । १०४ वर्षसम्मको राणा शासनको जरा हल्लाउने आवाज निकालेको घर अहिले व्यापारिक भवनका कारण छाँयामा प¥यो ।
बुद्धिमताले रचेको इतिहास मुर्खताले भताभुङ्ग बनाएपछि अहिले उनै पिताजीको प्रतिमा विराटनगरको बरगाछीमा उभ्याइयो । जेठ २८ गतेदेखि पिताजीको आत्मा कोइराला निवासबाट भड्काएर बरगाछीमा छताछुल्ल पारिएको छ । विराटनगरमा अहिले त्यहि बहसले प्राथमिकता पाउनुको कारण समेत सम्मानित राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रिय राजमार्गमा ठड्याएर अपहेलना गरिएको विषयलाई बारम्बार दोहो¥याई–तेहा¥याईकन चिच्याउनु परेको छ ।

प्रजातान्त्रिक अभ्यासको व्यावहारिक सुरुवात गरिएको कोइराला निवास ओझेलमा मात्रै परेन । त्यहाँको अस्तित्वलाई विस्तारै सुस्ताउन दिएर पिताजीको प्रतिमाले बरगाछीको पहिचान मेटिदिएको आरोप प्रशस्त लाग्ने गरेको छ । स्थानीयले बरगाछीको पहिचानमाथि पिताजीको प्रतिमा हावी भएको गुनासो गरिरहेका छन् । व्यस्त शहर विराटनगरको बरगाछी पिताजीको प्रतिमाले उज्यालिनु पर्नेमा अन्धकार भएको जस्तो आभास काँग्रेसजनले नै गरिरहेका छन् ।
नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनलाई गर्व गर्ने जो कोहीले पनि विराटनगरको कोइराला निवासलाई सम्मान गर्दथ्यो । नेपाली कांग्रेसका लागि पवित्रधाम जस्तै रहेको कोइराला निवास नातिनातिनाको पालासम्म आइपुग्दा समाप्तिउन्मुख हुनपुग्यो । पिताजीको बुद्धिमताको इतिहास आफ्नै नातिहरुको मुर्खताले किचिदियो ।

गिरिजाप्रसादको मृत्युपछि कोइराला निवास टुक्रिएकोे थियो । अंशबण्डा लगाउने क्रममा विपीका सन्तानलाई, केशवका सन्तानलाई, तारिणीका सन्तानलाई र गिरिजाका सन्तानलाई निवासको जग्गा टुक्राइएको थियो । विपीका तीनवटै छोराहरु प्रकाश, श्रीहर्ष र शशांकले उनीहरूको भागमा आएका जमिन बिक्री गरेका छन् । जहाँ व्यापारिक भवन ठडिएका छन् । पूर्व भागमा रहेको कोसी अस्पतालबाट कोइराला निवास मुस्कुराई रहेको हेर्न पाइन्थो । अहिले लज्जित भए झैं लुकेर सुस्ताएको छ ।
तारिणीप्रसादका छोरा ज्योतिले आफ्ना भागमा परेको केही जमिन जोगाएर राखेका छन् । केशव कोइरालाका छोरा शेखरको भागमा रहेको जग्गा अहिले निवास क्षेत्रमा पर्दछ । जुन यथाावत् नै छ । अर्का निरञ्जनको भागको जग्गा पनि यथावत् रहेको बताइन्छ । गिरिजाप्रसादकी छोरी सुजाताले लिएको अंशमा जिपी फाउण्डेशनको भवन बनेको छ ।

अहिले पनि डा. शेखर कोइराला निवासमा बस्ने गरेका छन् । तर, कोइराला निवासले दिएको माया भने अहिले नागरिकले पाईरहेका छैनन् । त्यसको महत्व घट्दै जाँदा भरथेग पनि कमजोर हुँदै गएको छ । विसं २०५४ देखि कोइराला निवासलाई प्रहरीले दिईरहेको सुरक्षा पनि अहिले सरकारले हटाएको छ ।

छ जना प्रधानमन्त्री भएको शहर विराटनगर हो भनेर देखाउने आधार निर्माण हुने चरणमा पनि छैन । रेडियोको स्थापना विराटनगरमा भएको भनेर भन्ने बाहेक केहि छैन । राजनीतिक योद्धा र योगदान देखाउने पार्क, स्मारक नहुनु मात्रै हैन बनाउनु पर्ने ठाउँ समेत मासिएको छ । जसको प्रतिबिम्व बरगाछीको सडकले दर्शाई दिएको छ । हो, त्यो प्रतिमा कोइराला निवासमै बन्नुपर्ने थियो । जसले इतिहासलाई जोगाई दिन्थ्यो । राजनीतिक आन्दोलनको योगदानलाई जीवित बनाईदिन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्