सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा काँग्रेस विजयी

सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा काँग्रेस विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली काँग्रेस विजयी भएको छ ।

नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन् । जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा काँग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा काँग्रेसकै स्मृति चुनारा निर्वाचित भएकी हुन् । यसैगरी जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भएका छन् भने उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का खगराज भुसाल विजयी भएका छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा काँग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा पनि काँग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भएकी हुन् । जिल्ला समन्वय समिति डडेल्धुरामा पनि काँग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । समन्वय समितिको प्रमुखमा काँग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा काँग्रेसकै अमृता ठडालीमगर निर्विरोध निर्वाचित भएकी छन् ।

बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार काँग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका छन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भएका छन् । दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी भएको छ। सत्ता गठबन्धन दलहरूका तर्फबाट प्रमुखमा काँग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् ।

यस्तै जिल्ला समन्वय समिति अछामको प्रमुखमा काँग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि काँग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छन् । जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनका उम्मेदवारहरूको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । समन्वय समिति प्रमुखमा काँग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्