अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । नागार्जुन नगरपालिका-६ जयन्तीगाउँ डेरा गरी बस्ने भक्तपुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राजन भेलेलाई नियन्त्रित लागूऔषध डाइजेपाम २ सय ४५ एम्पुल, फेनारगन २ सय ७६ एम्पुल र नुर्फिन २ सय ७३ एम्पुल सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो कोठामा लागूऔषध संचय गरी कारोबार गरिरहेको भन्‍ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-६ स्थित होटल एण्ड लजबाट नियन्त्रित लागूऔषध नाईट्रजेपाम २ हजार ७ सय ट्याब्लेट सहित तिनपाटन गाउँपालिका-१ ट्याम्केटार बस्ने २२ वर्षीय हरि बहादुर ठकुरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा ठकुरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-२ चाईना क्वाटर बस्ने ३४ वर्षीय निरन्जन घिमिरेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.५ ख ३८९५ नम्बरको गाडीलाई प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने २१ वर्षीया चाहाना मगर समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्