विराटनगर विमास्थल विस्तारका नाममा स्थानीयको जग्गा रोक्का : फुकुवा नगरिपछि भोलिदेखि आन्दोलन

विराटनगर विमास्थल विस्तारका नाममा स्थानीयको जग्गा रोक्का : फुकुवा नगरिपछि भोलिदेखि आन्दोलन

विराटनगर । विराटनगर विमानस्थल विस्तारका नाममा रोक्का गरिएको जग्गा फुकुवा नगरिएपछि आसपासका स्थानीयले मङ्गलबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।

१ वर्षदेखि आसपासका स्थानीयको १२६.४६ बिगाहा जग्गा रोक्का गरेर सरकारले मुआब्जा समेत वितरण नगरेपछि स्थानीयले आन्दोलन गर्ने भएका हुन् । जग्गाको मुआब्जाका निम्त्ति बजेटको सुनिश्चितता वा रोक्का राखिएको जग्गा फुकुवा हुनुपर्ने माग सहित मोरङ प्रशासन र मुख्यमन्त्रीको कार्यालयमा दिईएको ७ दिने अल्टिमेटमको समयसीमा सकिएपछि स्थानीयहरु आन्दोलनमा उत्रिने भएका हुन् । गएको जेठ ३० गते विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ७ दिने अल्टिमेटम सहितको मागपत्र बुझाएको थियो ।

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्ने भनेर २०७७ चैत्र २३ र २४ गते गोरखापत्र दैनिकमा एक सुचना प्रकाशित गर्दै सरकारले स्थानीय ३५० परिवारको १४०० कित्ता जग्गा अधिग्रहण गरेको थियो । त्यसयता, आसपासका ३५० परिवारका नागरिकले न हालसम्म जग्गाको मुआब्जा पाएका छन्, न उनीहरुको जग्गा नै फुकुवा गरिएको छ । हारगुहार गरेर दुवै निकायलाई ७ दिनको अल्टिमेटम दिँदा समेत कुनै ठोस उपलब्धि प्राप्त हुन नसकेपछि संघर्ष समितिले आन्दोलनको बाटो रोजेको समितिका संयोेजक वेदराज पौडेलले बताए । ‘दुवै निकायले माथि लेखेर पठाउने बाहेकका अन्य कुनैपनि काम गरेको छैन,’ उनले भने, ‘नियामक निकायको निष्क्रियताका कारण असार ७ गतेदेखि हामी आन्दोलनमा उत्रन बाध्य भएका छौं ।’

चरणबद्ध आन्दोलनको कार्यतालिका सार्वजनिक गर्दै संघर्ष समितिले असार ७, ८ र ९ गते बिहान ११ बजेदेखी १ बजेसम्म विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिने जनाएको छ । समितिका अनुसार असार १० गते जिल्ला प्रशासन कार्यालय अगाडि जग्गा प्राप्ति ऐन, २०३४ जलाउने र ऐन परिमार्जका लागि सरकारलाई दबाब दिने कार्यक्रम तय भएको छ । संघर्ष समितिका संयोजक पौडेलले भने, ‘कानुनमा जग्गा अधिग्रहण सम्बन्धी व्यवस्था भएपनि जग्गाको मुआब्जा वितरण सम्बन्धी कुनै ठोस मापदण्ड छैन् । तसर्थ उक्त ऐन विभेदकारी देखिएकाले हामीले त्यसलाई जलाएर परिमार्जनका लागि दबाब दिने कार्यक्रम समेत तय गरेका छौं ।’

आन्दोलनको चरणबद्ध कार्यक्रम अनुसार असार ११ गते संघर्ष समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम आलेको पुत्ला दहन, प्रमुख राजनीतिक दलहरुलाई आन्दोलनप्रति समर्थन र अपनत्व ग्रहणका निम्त्ति पत्राचार तथा शीर्ष नेताहरुसँग अन्तरक्रियाको योजना समेत बनाएको छ । पहिलो चरणको आन्दोलनको सम्पन्न भएपछि दोश्रो चरणको आन्दोलनको कार्यक्रमहरु समेत तय गर्ने संघर्ष समितिले जनाएको छ ।

२०७७ असोजमा तत्कालिन मन्त्रिपरिषदले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गरेर सार्क राष्ट्रहरूमा विराटनगरबाटै हवाई उडान गराउने निर्णय गरेको थियो । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थल विस्तारका लागि १२६.४६ बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । हालको १५ सय मिटरको धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गर्दै विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने सरकारको योजना थियो । सोही निर्णय र योजनाका आधारमा गोरखापत्रमा सुचना निकाल्दै सरकारले विमानस्थल आसपासका १४ सय कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरेको थियो । सरकारले त्यतिबेला मुआब्जा निर्धारण समिति समेत बनाएको थियो ।

तर, समितिलाई काम गर्न नदिईएका कारण हालसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । सरकारले पनि मुआब्जाका निम्त्ति भनेर आवश्यक बजेट विनियोजन गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्