विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्दै स्थानीय तह

विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्दै स्थानीय तह

वालिङ । यसवर्षको मनसुन सुरु भएकाले सम्भावित जोखिम हुनसक्ने भएकाले स्याङ्जाका स्थानीय तहहरू विपद् व्यवस्थापनमा जुट्ने भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मङ्गलबार स्याङ्जा सदरमुकाम पुतलीबजारमा बसेको बैठकले वर्षायाम सुरु भइसकेको र स्याङ्जा जिल्लासमेत विपद्को सम्भाव्य जोखिम क्षेत्रमा रहेको हुँदा विपद्को व्यवस्थापनमा जुट्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उपस्थित भएका जिल्लाका एघारवटै पालिकाका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम विनियोजन गरी विपद् व्यवस्थापनसम्बन्धी आवश्यक सामग्री खरिद गर्ने, मौज्दात राख्ने र परिचालन गर्ने निर्णय गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

सभाव्य विपद्लाई व्यवस्थापन गर्न आवश्यक पर्ने विपद्जन्य सामग्री खरिद गरी आ–आफ्नो पालिकामा मौज्दात राख्न र आवश्यकता अनुसारका सामग्री तीनवटै सुरक्षा निकायलाई उपलब्ध गराउने निर्णय गरिएको छ । वर्षाका कारण राष्ट्रिय राजमार्ग तथा स्थानीय पालिकालाई जोड्ने मार्गमासमेत क्षति हुनसक्ने भएकाले डोजर-जेसिवी लगायतका मेसिनरी र तिनका चालकलाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले स्याङ्जाका विभिन्न स्थानीय तहमा बेला–बेलमा घटिरहने विपद्जन्य घटनाको न्यूनीकरण गरी जनधनको क्षतिलाई कम गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएको थियो । जोखिम देखिएका क्षेत्रको व्यवस्थापन गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत भएका निर्णयलाई आ–आफ्नो पालिकामा कार्यान्वयन गर्दै सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणमा सतर्कता अपनाउने प्रतिबद्धता पालिका प्रमुख तथा प्रतिनिधिहरूले जनाएका छन् । पालिकाले विशेष गरी गतवर्ष जोखिम देखिएका वस्ती तथा क्षेत्रहरू र यसवर्ष जोखिम हुनसक्ने सम्भावित क्षेत्र पहिचान गरी थप सजगता अपनाउने भएका हुन् । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्