सुनसरी-मोरङ करिडोरमा उद्योगहरु बन्द हुने क्रम बढ्दो : लगानीमा असुरक्षा मुख्य कारण

सुनसरी-मोरङ करिडोरमा उद्योगहरु बन्द हुने क्रम बढ्दो : लगानीमा असुरक्षा मुख्य कारण

विराटनगर । केन्द्रिकृत आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनको नीतिको अभावमा ३ दशकयता सुनसरी-मोरङ औद्योगिक करिडोरमाउद्योगहरु बन्द हुने क्रम बढेको छ ।

सरकारको स्थायी पोलिसीको अभावमा पछिल्लो ३ दशकयता यस करिडोरमा नयाँ लगानीका निर्यातमुखी उद्योगहरु सञ्चालनमा आउन नसकेका हुन् । वि.सं. २०४६ सालसम्म १५० निर्यातमुखी उद्योगहरु रहेको यस करिडोरमा हाल कूल ४३ वटा उद्योगहरु मात्र सञ्चालनमा छन् । ठूला लगानीका बाँकी १०७ वटा उद्योगहरू यस दौरान बन्द भएका छन् । वि.सं. २०४१ देखि ०४९ सालसम्म सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट उत्पादित वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी निर्यात हुन्थ्यो । तर, ५० को दशक सुरू भएसँगै उद्योगधन्दाहरू बन्द हुने क्रम बढेको यस क्षेत्रका उद्योगीहरु बताउँछन् । ‘उद्योगहरु बन्द हुने क्रम बढ्नुमा राजनीतिक अस्थिरता मुख्य कारण हो,’ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे भन्छन्, ‘यसबाहेकस्थायी पोलिसीको अभाव, १८ घण्टासम्मको लोडसेडिङ, यातायातमा अवरोध र बैंक तथा बिमाको चर्को ब्याज लगायतका कारणले पनि उद्योगहरु संकटमा परेका हुन् । अहिले विद्युत आपूर्तिको समस्या केही हदसम्म समाधान भएको छ । तर, बैंकको ब्याजको समस्या अहिले पनि उस्तै छ ।’

सुनसरी-मोरङ औधोगिक करिडोरमा सञ्चालनमा हुँदै आएका गार्मेन्ट, आईरन स्टिल, जुट, खाद्यतेल, साबुन र टेक्सटाईल जस्ता निर्यातमुखी उद्योगहरु बन्द हुनुमा कतै न कतै सरकार नै जिम्मेवार रहेको घिमिरेको भनाई छ । औद्योगिक क्षेत्रमा बस्ती विकास लगायतका कारणले वैदशिक लगानी घट्दै गएपछि पनि थुप्रै निर्यातजन्य उद्योगहरू बन्द भएको उनको अनुभव छ । उनी भन्छन्, ‘बन्द भएका उद्योगहरूमा मात्रै करिब २३ अर्ब बराबरको लगानी थियो ।’
उद्योग विभागको तथ्याङ अनुसार सुनसरी-मोरङऔधोगिक करिडोर लगायत आसपासका क्षेत्रमा अहिले साना र ठूला गरी कूल ६६५ वटा उद्योगहरु सञ्चालनमा छन् । जसमध्ये १९ प्रतिशत उद्योगद्वाराउत्पादित मालसामान विदेशसम्म निर्यात हुन्छन् ।तर, उद्योगहरु बन्द हुने क्रम उकालो लागेसँगै ३ दशकयता यस करिडोरमा भने नयाँ लगानीका उद्योगहरु खासै सञ्चालनमा आउन सकेका छैनन् । चाउचाउ, जि.आई.वायर र नयाँ मेशिनरीबाट उत्पादन हुने स्टिल तथा केही सिमेन्ट उद्योगहरु थपिएको भएपनि सञ्चालित जुट, गार्मेन्ट, कपुर, वनस्पति, घ्यूतेल, प्याड र मैनबत्ती लगायतका ४० बढी निर्यातमुखी उद्योगहरू बन्द हुने अवस्थामै रहेको उद्योगीहरु बताउँछन् । सिमित उद्योगहरुलाई पोस्ने सरकारी नीतिले पनि स्वदेशी उद्योगहरु धरासायी हुने अवस्थामा पूगेको उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल बताउँछन् । ‘भन्सार महशुल र अन्तःशूल्कमा हुने वार्षिक फेरबदलले पनि स्वदेशी उद्योगहरु मारमा परेका छन्,’ उनी भन्छन्, ‘सन् १९९० मा रोकिएको औधोगिक विकास अहिलेसम्म पूनः सुचारु हुन सकेको छैन् ।’

पछिल्लो ३० वर्षको अन्तरालमा सुनसरी-मोरङकरिडोरमासञ्चालनमा रहेका ठूला लगानीका आधा दर्जनभन्दा बढी टेक्सटायल उद्योगहरु पनि बन्द भएका छन् । अशोक टेक्सटायल र प्रभात टेक्सटायल त्यसमध्ये मुख्य हुन् । यस करिडोरमा सञ्चालित ११ मध्ये ६ जुट उद्योगहरु पनि यस दौरान बन्द भएको उद्योग सङ्गठनको तथ्याङ्क छ । तथ्याङ्क अनुसार पछिल्लो ३ दशकको अवधिमा यस करिडोरका हेटौंडा र स्वदेशी आईरन जस्ता फलाम उद्योग, कर्कट पाता र पाईप उद्योगहरू पनि बन्द भएका छन् । करोडौंको लगानी रहेको दुहबीको वंशल ईण्डष्ट्रिज पनि सञ्चालन हुन नसकेर बन्द भएको हो । अम्बे, सङ्ग्रिला ईन्टरनेशनल, एमी, जेडी, ईजी वेयर र फेशन फ्याब्रिक जस्ता तयारी पोशाकका ठूला उद्योग र दर्जनौं साना उद्योगहरू पनि यस दौरान बन्द भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् । ‘एउटै उद्योगमा १ अर्ब बराबरको लगानी रहेको वंशल, लिगश र सूर्य नेपाल जस्ता नाम चलेका एक दर्जन उद्योगहरु गणतन्त्रको उदयसँगै बन्द भए,’उनी भन्छन्, ‘औधोगिक क्षेत्रप्रति सरकारको उदासीनता र नीतिगत भ्रष्ट्राचारमा सरकारको संलग्नताको प्रभाव स्वरुप उद्योगहरु सधैं संकटग्रस्त रहे । अवस्था अहिलेपनि फेरिएको छैन् ।’

बिशेष गरी लगानीमा असुरक्षा, जग्गाको बढ्दो मोल, राजनैतिक अस्थिरता र डबल डिजिटको बैङ्किङ ब्याज लगायतका समस्याले यस करिडोरमा नयाँ लगानी थप हुन नसकेको उद्योगीहरुको बिश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्