क्यामरुनको एभिनियर क्लबलाई हेम्जा गोल्डकप फुटबलको उपाधि

क्यामरुनको एभिनियर क्लबलाई हेम्जा गोल्डकप फुटबलको उपाधि

कास्की । क्यामरुनको एभिनियर फुटबल क्लबले पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको ‘हेम्जा गोल्डकप अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

हेम्जा युनाइटेडको आयोजनामा यही असार ४ गतेदेखि पोखरा–२५ स्थित गौरीशङ्कर खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा आयोजक टोली हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधिसहित नगद रु छ लाख र ट्रफी पुरस्कार प्राप्त गर्न सफल भयो । उपविजेता बनेको आयोजकको टोलीले रु तीन लाखमा चित्त बुझायो ।

आक्रामक खेल पस्किएको एभिनियरले खेलको छैटौँ मिनेटमा गोल गर्दै अग्रता बनायो । हेम्जाका डिफेन्डर सुमन अर्यालले बल रोक्ने क्रममा एभिनियरले कर्नर प्राप्त गरेको थियो । विल्लेले प्रहार गरेको कर्नरमा आनिसेले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाउनुभयो । खेलको ३५औँ मिनेटमा आयोजक हेम्जाका सुशील राईले गोल गरेपछि पहिलो हाफ बराबरीमै रोकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा एभिनियरले २ गोल थप्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । खेलको ९८औँ मिनेटमा साङले गोल गर्नुभयो भने १०६औँ मिनेटमा विल्लेले गोल गर्दै जीत निश्चित गराउनुभयो ।

प्रतियोगितामा हेम्जा युनाइटेडका गोलरक्षक दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५० हजार र ट्रफी पुरस्कार पाउनुभयो । हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर, सुशील राई उत्कृष्ट फरवार्ड, एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक र एभिनियरकै नेल्शन उत्कृष्ट मिडफिल्डर घोषित हुँदै जनही रु २० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताको उदीयमान खेलाडीको उपाधि हेम्जाका मनिश थापा घोषित हुनुभयो र रु २० हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै रु २५ हजार पुरस्कार हात पार्न सफल भयो । विजयी टोली, सर्वोत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्