सर्लाही । कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ ।
कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढङ्गले हत्या गरिएको अवस्थामा यही असार ७ गते बिहान शव फेला परेको थियो । प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाइ अमरकान्त ठाकुर र सोही ठाउँका रुपेशकुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अमरकान्तले रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक अमरेन्द्र र भाइ अमरकान्तबीच पहिलेदेखि नै विवाद भइरहने गरेको र असार ६ गते बेलुका पनि उनीहरु दुईबीच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि भाइ अमरकान्तले गाउँकै साथी रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेका खुलेको हो । उनीहरुले अमरेन्द्रलाई असार ६ गते राति करिब ८ बजे खानपिनको व्यवस्था छ, भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर र शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्दै जाँदा मृतकका भाई अमरकान्तले शङ्कास्पद व्यवहार देखाउन थालेपछि उनलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ । रासस