विराटनगरको डुबान नियन्त्रणमा ‘आँसु’ योजना

विराटनगरको डुबान नियन्त्रणमा ‘आँसु’ योजना

हरेक वर्षासँगै विराटनगरवासीसँग रमाउने कुनै योजना छैन । शहरलाई वर्षाको पानी खासै जरुरी छैन । तर, खेतीमा रमाउने किसानलाई वर्षातको ठूलो भूमिका छ । वर्षासँगै किसानका मन हर्षित हुन्छन् । उत्साह थपिन्छ । वर्षदिनको जीविकोपार्जनको बाटो खुल्छ ।

वर्षायाममा वर्षा सामान्य हो । पानी जता गहिरो छ उतै बग्ने प्राकृतिक नियमसँग हामी समझदार छौं । तर, यसको व्यवस्थापमा ध्यान नपुग्दा विराटनगरवासीका लागि वर्षेनीको वर्षा किसानलाई झैं उमङ्ग भर्दैन ‘आँसु’ वर्षाउँछ । कारण, स्पष्ट नीति बनाएर त्यसको समाधानमा सरकार गम्भीर नहुनु ।

स्थानीय तहको निर्वाचनपछि २०७४ सालमा विराटनगर शहर डुबानले स्तब्ध भयो । भर्खरै निर्वाचित धार्मिक मानिएका मेयर भीम पराजुलीले डुबान क्षेत्रमा पुगेर पैदल हिँडेरै डुबान प्रभावित भेटे र तरुक्क ‘आँसु’ झारे । उनले आश्वासन दिएका थिए–अबको पाँचवर्षमा विराटनगर डुबानमुक्त हुनेछ । तर, उनको कार्यकाल बित्यो उनले नागरिक सामु झारेको आँसु विराटनगरवासीका लागि ‘सेन्टिमेन्टल ब्लाकमेलिङ्ग’मा सिमित भयो । २०७८ सालमा पनि विराटनगरले डुबानको पीडा सहनु प¥यो । उनले खासै धेरै डुबान क्षेत्रमा पुग्न आँट गरेनन् । किनकी उनी असफल घोषित भईसकेका थिए ।

विराटनगरले भर्खरै नयाँ जनप्रतिनिधि पाएको छ । नागेश कोइरालाको नेतृत्वको महानगरपालिकाले भर्खरै बजेट ल्याएको छ । तर, नीति तथा कार्यक्रम र बजेटमा डुबान समस्या समाधानका लागि खासै प्राथमिकता समेटिएको छैन । सोमबार बिहानदेखि लगातार परिरहेको वर्षाले विराटनगर ८ घण्टामा अस्तव्यस्त भईसकेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार वर्षा अझै केहि दिनसम्म चलिरहने छ । नवनिर्वाचित जनप्रतिनिधिले समेत डुबान क्षेत्रको अवलोकन गर्नेछन् । आश्वासनका पोका फुकाएर नागरिकको अगाडी तुरुक्क ‘आँसु’ झारेर फर्कनेछन् । हिउँद लाग्छ, वर्षाको वास्ता नहुँदै वर्खा लाग्छ । जसले पुनः विराटनगरवासीलाई आह्त दिएर बिदा हुनेछ ।

विराटनगरको डुबान समस्या समाधान गर्न यहाँका जनप्रतिनिधिसँग ‘आँसु’ योजना बाहेक केहि देखिएको छैन । दुई नदिको बीचमा रहेको विराटनगरको डुबान समस्या हल खोज्न निकास बिनाको विकासले हैरानीमा नागरिकलाई पारेको छ । नदी तटिय क्षेत्र वर्षेनी मिचिदै छ । नदीहरुमा फोहोरको डंगुर छ । त्यस बाहेक महानगर क्षेत्रमा रहेका नहरहरु फोहोरको डंगुरले पुरिएका छन् । यदि विराटनगरको डुबान नियन्त्रणमा नहरसँग सडकका नालीको कनेक्सन मात्रै सहि रुपमा जोड्ने हो भने पनि डुबानको धेरै समस्या हल हुने देखिन्छ । त्यस बाहेक सिंघिया र केशलियाको सीमा क्षेत्र खाली गरेर सडकका नालीको कनेक्सन जोड्ने योजना बनाउने हो भने पनि विराटनगरका लागि वस्ती डुबानको समस्या हल हुनेछ । तर, योजना नहुँदा त्यसको असर वर्षेनी नागरिकले भोग्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्