ईरानमा मृत्युदण्डको सङ्ख्या अघिलो बर्षको तुलनामा दोब्बर

ईरानमा मृत्युदण्डको सङ्ख्या अघिलो बर्षको तुलनामा दोब्बर

इरानमा सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको ईरानको एक गैरसरकारी संस्थाले शुक्रबार जानकारी गराएको छ ।

फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त संस्थाले दावी गरेको छ ।

गत वर्षको पहिलो छ महिनामा ११७ जनालाई मृत्युदण्ड दिइएकोमा यो बर्षको जनवरी १ देखि जुन ३० सम्म ईरानमा २५१ जनालाई फाँसी दिइएको नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) को एक रिपोर्टमा बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत महिना मृत्युदण्डको वृद्धिप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । ईरानले उच्च सङ्ख्यामा लागुऔषध अपराधी र अल्पसंख्यक जातीय दलका धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको थियो ।

ईरानमा गत महिनाहरूमा खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्रीमा मूल्य वृद्धि भएको भन्नेजस्ता आर्थिक गुनासोसँगै राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गरेको थियोे ।

आईएचआर संस्थापक महमूद अमिरी–मोघड्डमले एएफपीसँग भन्नुभयो, “बढ्दो लोकप्रिय शासन विरोधी प्रदर्शनको प्रतिरोध गर्न डर फैलाउनु यी मृत्युदण्डको मुख्य लक्ष्य हो भन्नेमा कुनै शंका छैन ।”

उहाँले भन्नुभयो, “मृत्युदण्डविरुद्धको सशक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया र घरेलु अभियानले मात्रै अधिकारीलाई राजनीतिक बोध गराई मृत्युदण्डको बढ्दो प्रवृत्तिलाई रोक्न सक्छ ।”

मे ७ मा विरोध प्रदर्शनको नयाँ लहर सुरु भएदेखि नै १३७ जनालाई मृत्युदण्ड दिइएको उहाँले बताउनुभयो । मृत्युदण्ड पाएकाहरूमध्ये छ महिलासमेत रहेको आईएचआरले बताएको छ ।

आईएचआरका अनुसार बुधबार मात्रै तेहरानबाहिर रहेको राजै शाहर जेलमा बलात्कार र हत्या अभियोगमा आठ जना कैदीलाई मृत्युदण्ड दिइएको थियो ।
रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्