धनगढीको शिवपुरीधाममा भारतीय पर्यटकको आकर्षण

धनगढीको	शिवपुरीधाममा भारतीय पर्यटकको आकर्षण

धनगढी । सुदूरपश्चिमको सहर धनगढीस्थित शिवपुरीधाम जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

पछिल्ला समयमा उक्त धाममा निर्माण भइरहेका संरचना, भौगोलिक अवस्थिति आदिका कारण यो स्थल पर्यटकको रोजाइँमा पर्न थालेको हो ।एकसय आठ फिट अग्लो शिवलिङ्ग, १०८ तुलसीका मोठ, द्वादश ज्योतिर्लिङ्गजस्ता धार्मिक महत्वका संरचनाका कारण यस तीर्थस्थलप्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको शिवपुरीधाम व्यवस्थापन समितिका अध्यक्ष बलदेवप्रसाद भट्टले जानकारी दिनुभयो । पछिल्ला समयमा धनगढीबाट मात्र नभएर आसपासका जिल्लाका साथै भारतीय दर्शनार्थी पनि शिवपुरीधाम आउने गरेको उहाँले बताउनुभयो ।

“धाममा पूजाआजाका साथै अवलोकन, भ्रमण र दिनको समयमा पनि मन्दिर परिसरमा घुमफिर गर्न आउनेको सङ्ख्या बढिरहेको छ”, अध्यक्ष भटृले भन्नुभयो, “धनगढीको मुख्य बजार क्षेत्रबाट नजिकै रहेका कारण पनि यो आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।” धाममा विशेष गरी महाशिवरात्रीमा ठूलो भिड लाग्ने गरेको मन्दिरका पूजारी हरिनारायण भट्टले जानकारी दिनुभयो ।

मन्दिरमा विभिन्न महत्वपूर्ण तिथि, मिति र पर्वमा भक्तजन अत्यधिक आउने गरेका छन् भन्दै उहाँले यस क्षेत्रको प्रचारप्रसार भएमा राम्रै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने अपेक्षा गर्नुभयो । पछिल्ला समयमा शनिवार र विभिन्न सार्वजनिक बिदाका दिनमा धाममा घुम्न र दर्शन गर्न आउनेहरूको चाप देखिन्छ ।धामको प्राचीनकालदेखि नै अस्तित्व रहे पनि यहाँको मन्दिर भने लगभग ४०÷४२ सालतिर बनेको स्थानीयवासीले बताए । धाममा दर्शन गरेमा मनले चिताएको पुग्छ भन्ने जनविश्वासका कारण धनगढी र आसपासका दर्शनार्थी यहाँ आइपुग्ने गरेका छन् ।

मन्दिर दैनिक बिहान ५ बजेदेखि बेलुका ७.३० बजेसम्म खुल्ने पुजारी भट्टले जानकारी दिनुभयो । धामको धार्मिक महत्वसँगै भौगोलिक अवस्थिति पनि सुन्दर र रमणीय रहेका कारण पछिल्ला समयमा छिमेकी राष्ट्र भारतबाट पनि ठूलै सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो । गएको शिवरात्रिमा पनि अत्याधिक सङ्ख्यामा भारतीय पर्यटक आएका थिए ।
धामलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न र पूर्वाधार निर्माणका लागि समय समयमा विभिन्न महायज्ञ एवं अनुष्ठान गर्दै आइएको छ । स्थानीयवासीका अनुसार शिवपुरी वनसँगै जोडिएको आठ बिघा क्षेत्रमा फैलिएको धाम सुन्दर र रमणीय छ । धनगढी आसपासका शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबालगायत गन्तव्यलाई जोडेर यस क्षेत्रमा पर्यटकीय गतिविधिलाई अघि बढाउन सकिने सरोकारवालाले बताए । यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणसँगै प्रवद्र्धनका लागि धनगढी उपमहानगरपालिका र प्रदेश सरकारको ध्यान पुग्नु जरुरी भएको छ । वरिपरि जङ्गलले ढाकिएको शिवपुरी उत्तररामेश्वर ज्योतिलिङ्ग धाममा १०८ फिट अग्लो शिवलिङ्ग सबैको आकर्षण बनेको छ ।

दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिङ्गका रुपमा रहेको जिकिर गरिएको यस धाम वरपरका एक सय आठ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिर आदिले यहाँको गरिमा र महिमा बढाएका छन् । पछिल्ला वर्षमा धाममा विवाह, व्रतबन्धजस्ता धेरै माङ्गालिक कार्य हुने गरेका छन् । माङ्गालिक कार्यलाई लक्ष गरी विभिन्न मण्डप बनाउनुका साथै गणेश मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायणको मन्दिर, दुर्गा मन्दिर र उग्रतारा मन्दिर आदिले यहाँको शोभा बढाएको देखिन्छ ।

मन्दिर परिसरमा साधुसन्तका लागि आवास भवन पनि निर्माण गरिएको छ । धामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका स्थानीय एवं प्रदेश सरकारले चासो दिनुपर्ने देखिएको स्थानीयवासी एवं धाम व्यवस्थापन समितिका महासचिव योगेश मल्ल (योगेन्द्र) ले बताउनुभयो । धाम वरपर रहेको धार्मिक वनमा तारबार नहुँदा छाडाचौपाया जाने ठाउँ भएको बताउँदै उहाँले यसतर्फ सम्बद्ध सबैले चासो दिनुपर्ने देखिएको उल्लेख गर्नुभयो ।

धाम परिसरमा विभिन्न सङ्घ संस्थाले समय समयमा वृक्षरोपण गरे पनि ताराबार नहुँदा छाडा चौपायासँग जोगाउन नसकिएको महासचिव मल्लले बताउनुभयो ।“शिवपुरीधाम धनगढीको गहना जस्तै हो, यसको संरक्षण गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा स्वदेशी पर्यटकका साथै भारतीय पर्यटकको पनि आकर्षक गन्तव्य बन्न गएको यस क्षेत्रको प्रचारप्रसार मात्रै गर्न सकेपनि विकासमा ठूलो योगदान पुग्न सक्ने देखिन्छ ।” झण्डै आठ बिघा क्षेत्रफलमा रहेको धामलाई व्यवस्थित गर्न सकिएमा यो यस क्षेत्रको विशिष्ट गन्तव्यका रुपमा विकास हुने उहाँको महासचिव मल्लको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्