मङगलसेनका विभिन्न स्थानलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा

मङगलसेनका विभिन्न स्थानलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङगलसेनका विभिन्न स्थानलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ । अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा दैनिक प्रदर्शन हुन थालेपछि आज मङ्गलबार बिहानदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपेश रिजालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विनोद शाहीको मुत्यु प्रकरणमा केही व्यक्ति पक्राउ परेका छन् प्रहरीले पक्राउ परेकालाई अदालतसम्म लैजाने अवस्था नरहेकाले अनिश्चित्कालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।” उहाँका अनुसार अछाम दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, बैरागी धारा, बस काउन्टर, मङ्लसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधित क्षेत्र घोषण ठाउँमा कुनै पनि विरोधका कार्यक्रम नगर्न÷नगराउन तथा भेला नहुन प्रशासनले आदेश दिइएको छ । निषेधित क्षेत्र उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतक शाहीको न्याय मागका लागि सोमबार सदरमुकाम मङगलसेन पुगेका आफन्त, स्थानीयवासी तथा प्रहरीबीच झडप भएको थियो ।

उक्त झडपमा परी १२ जना नेपाल प्रहरी तथा दजनौँ स्थानीयवासी घाइते भएका प्रहरीले जनाएको छ । गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले अछाम पञ्चदेवलकी नगर प्रमुख अम्बिका चलाउने, वडा नं ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको छ । नगर प्रमुख चलाउनेसहित सातजना घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नुभएको छ भने किटानी जाहेरी दर्ता गराइएकामध्ये ६ जना अझै फरार रहेको अछाम प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्