संस्कृतिसम्बन्धी हक अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

संस्कृतिसम्बन्धी हक अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा समेटिएको भाषा तथा संस्कृतिसम्बन्धी हकअधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्रज्ञा सभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकका सबै जातजाति तथा समुदायको भाषा र संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रङ्गीचङ्गी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो ।

नाट्य प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री देउवाले भन्नुभयो,“नेपालको संविधानले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुने कुरालाई सुनिश्चित गरेको छ, त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्छ ।”

सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै मानिसमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको उहाँको भनाइ छ । उहाँले नाट्य प्रज्ञा–प्रतिष्ठानले नाट्य, नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रतिष्ठानले विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाट्य प्रविधिको क्षेत्रमा विशेष प्रशिक्षण, बाल नाटक, महोत्सव, लोपोन्मुख सङ्गीत परम्पराको संरक्षणका लागि एक प्रदेश एक परम्परा आदि कार्यक्रमको आयोजना गर्दै देशको विभिन्न भूगोल, जाति, समुदायसम्म आफूलाई पु¥याएको छ, जसले राष्ट्रिय एकताको सुत्रलाई बलियो बनाएको छ ।”

उहाँले सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान भनेको कला, कलाकार र सहजकर्ताको संस्था भएको बताउँदै लोकतन्त्रको स्थापना र संवद्र्धनमासमेत कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवद्र्धनको निम्ति आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनको निम्ति स्थानीय तह, राजनीतिक दल र प्राज्ञहरुबीच नेपालको संस्कृति, कला र साहित्यको विषयमा छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्मचार्य (कान्छाकुमार कर्माचार्य) र नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ ले नेपाली साहित्य क्षेत्रको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्