‘सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’

‘सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’

काठमाडौं । नेपाली भाषा तथा साहित्यको संरक्षणका लागि सवारी साधनमा राखिने नम्बरप्लेट नेपाली भाषामा लेख्नुपर्ने बताइएको छ । नेपाल शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सवारी साधनमा राखिने नम्बर प्लेटको अङ्क र अक्षर देवनागरिकमा लेखिनुपर्ने विषयक विचारसभा’ बोल्ने वक्ताहरूले नेपाली भाषाको संरक्षणका लागि नेपालमा दर्ता भएका सवारी साधनको नम्बरप्लेट नेपाली भाषामा राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रा डा हेमनाथ पौडेलले सवारी साधनमा राखिने नम्बरप्लेट नेपाली भाषामा हुनुपर्छ भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले लामो समयदेखि आवाज उठाउँदै आएको बताउनुभयो । “राष्ट्रियता, संस्कृति र भाषासँग जोडिएको जल्दोबल्दो समस्याप्रति नेपाल प्रज्ञा प्रतिष्ठान गम्भीर रहेको छ”, उहाँले भन्नुभयो ।

प्रा डा पौडेलले नेपाली भाषा, संस्कृतिको संरक्षणको पक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानले काम गर्दै आएको बताउनुभयो । उहाँले नम्बर प्लेट अङ्ग्रेजीमा राखे पनि नेपालीमा पनि राख्नुपर्ने स्पष्ट पार्नुभयो । वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले भाषाजस्तो संवेदनशील विषय संवैधानिक इजालसमा लगेर फैसला गर्नु गम्भीर विषय भएको बताउनुभयो । “इम्बोस्ड नम्बर प्लेटसम्बन्धी फैसला कानुन र संविधान विपरीत छ, उक्त निर्णय भाषालाई सिध्याउने प्रयास हो”, उहाँले भन्नुभयो । उहाँले उक्त फैसला कार्यान्वयन भए नेपाली भाषा सकिने बताउनुभयो । वरिष्ठ अधिवक्ता श्रेष्ठले इम्बोड नम्बर प्लेटसम्बन्धी संवैधानिक इजालासले गरेको फैसला कानुन क्षेत्रमा गहिरो अध्ययनको क्षेत्र बनेको बताउनुभयो ।

अधिवक्ताद्वय विनोद कार्की र रामेश्वर राउतले संविधानले नेपाली भाषालाई नेपालको कामकाजको भाषा हुनेछ भनेर स्पष्ट उल्लेख गरेकाले नेपाली सवारीसाधनमा पनि नेपाली भाषामा लेखिएको नम्बर प्लेट उल्लेख गर्नुपर्ने बताउनुभयो । उहाँहरूले सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय गरे पनि जनआवाजले त्यसलाई नमाने फिर्ता हुने तर्क गर्नुभयो । नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, भाषाविद् शान्त बस्नेतलगायतले नेपाली भाषाको संरक्षण गर्नका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँहरूले संविधान विपरित गरिएका निर्णय मान्य नहुने बताउनुभयो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्