विराटनगर । असार मसान्तमा आएर पानी पर्न छोडेपछि प्रदेश १ को धान रोपाइँ प्रभावित बनेको छ ।
मनसुक ब्रेकको प्रभाव स्वरुप प्रदेश १ का केही जिल्लाको रोपाइँ प्रभावित बनेको हो । पर्याप्त वर्षा नहुँदा रोपाइँ सम्पन्न भईसकेका धानमा समेत क्षति पुगेको छ । प्रदेश १ मा कुल ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन छ । जसमा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । यसपटक धान रोपाईका लागि कुल खेतीयोग्य जमिनमध्ये २ लाख ३१ हजार ४८ हेक्टर अर्थात् ६७.७९ प्रतिशतमा रोपाई भएको छ । गतवर्ष यो अवधिमा ८०.१२ प्रतिशतमा रोपाई सम्पन्न भएको थियो । तर, यसपटक मसान्त लागेसँगै मनसुन निष्क्रिय बनेपछि गतवर्षको तुलनामा १२.३२ प्रतिशत कम रोपाई भएको प्रदेश १ सरकारको कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार असार मसान्तदेखि सुरु भएको मनसुन ब्रेकका कारण रोपाइँ प्रभावित हुनुका साथै रोपाइँ सम्पन्न भईसकेको बाली समेत क्षति पुगेको छ । पानीको अभावमा रोपाइँ सम्पन्न भईसकेका धानबालीहरु सुक्दै गएको उनले बताए । यद्यपि, अहिले रोपाइँका लागि केही समय बाँकी रहेकाले मनसुन सक्रिय भएसँगै प्रदेश १ मा पानीको अभाव पनि पुर्ति हुने उनले जानकारी दिए । उनले भने, ‘सम्भवतः मङ्गलबारदेखि मनसुन सक्रिय हुने मौैसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसकारण वर्षा भएसँगै अहिले भईरहेको सम्पूर्ण क्षति व्यहोरिन्छ ।’
प्रदेश १ मा यसपटक उच्च पहाडका ५२.६९, मध्य पहाडका ६२.८३ र तराईका ७१.४० प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । जसमा उच्च पहाडका ताप्लेजुङमा ६०, संखुवासभामा ४५ र सोलुखुम्बुमा ८०.६० प्रतिशतमा रोपाई सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार यसपटक मध्य पहाडका पाँचथरमा ४०, ईलाममा ५९, भोजपुरमा ७०, तेह्र्रथुममा ७५, धनकुटामा ३९, उदयपुरमा ६३.१३, ओखलढुङ्गामा ८६.८८ र खोटाङ्गमा ७० प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यसबाहेक तराईका झापा, मोरङ र सुनसरीमा क्रमशः ७२, ७५ र ६५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको जनाईएको छ ।