काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रस्तुत गर्नुभएको सो प्रस्तावमाथि छलफलपछि सर्वसहमतिले पारित भएको हो । त्यसअघि मन्त्री यादवले सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा सम्झौता कार्यान्वयनपछि वन तथा वातावरणको क्षेत्रमा थप अन्तर्राष्ट्रिय लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ५ गते बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ । रासस