चित्रकार डा भौकाजीको निधन

चित्रकार डा भौकाजीको निधन

काठमाडौं । चित्रकार डा रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उहाँ दिवङ्गत हुनुभएको उहाँका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिनुभयो ।

रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गर्नुभएका डा भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुपै्र लेख पत्रपत्रिकामा प्रकाशित छन् । विसं २०२९ फागुन २४–२५ मा गृहजिल्ला रामेछाप, साँघुटार बजारमा उहाँको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो । ललितकला महाविद्यालयका पूर्वछात्र उहाँले ‘मेरो नेपाल’ शीर्षकमा विभिन्न ठाउँको दृश्यचित्र रचना गरी थुपै्र प्रदर्शनी पनि गर्नुभएको थियो । अविवाहित डा भौकाजीले गोरखा भूकम्पपछि वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, टोखा चण्डेश्वरी, पशुपति विश्वरूप आदिका स्थलगत चित्र पनि तयार गरी प्रकाशनमा ल्याउनुभएको थियो ।

पशुपति आर्यघाटमा उहाँको आजै दाहसंस्कार गरिएको छ । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा नाफाका सदस्य सचिव विपीन घिमिरे, प्राज्ञ रामकृष्ण भण्डारी, पूर्वसांसद देवशङ्कर पौडेल, राजनीतिज्ञ लोककृष्ण भट्टराई, पूर्वप्राज्ञ नारदमणि हार्तम्छाली र रवीन कोइराला, सोफाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायत शुभेच्छुकको उपस्थिति थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्