आफू रैती बनेर
भर्खर भर्खर
दासत्वको आगोबाट उम्किएर
मालिक बनेको
मेरो छिमेकी छ ।
ऊ साथी हो
दाजुभाइ हो
जन्ती हो, मलामी हो
सँधियार हो
तर मेरो सानो टुक्रा जमिनमा
आँखा लाउँछ
बर्खामा आली तास्छ
हिँउदमा आली सार्छ ।
हामी हिँड्ने बाटो
ऊतिर पर्ने छेउ होचो भए
मेरो माटो तानेर अग्ल्याउँछ,
पानी पर्दा म पानीमा डुबेको
हिलो हुँदा मेरा लालाबालाहरू
हिलामा लडेको
मिठो र मधुर
परपीडनमा
एक खिली पान चबाएर
पिच्च थुक्छ ।
ऊ सिकारीले झैँ
हिजो पनि हेर्थ्यो
आज पनि हेर्छ
भोलि पनि हेर्नेछ
जसरी कुत्सित प्रेमीले प्रेमिकालाई
काँडामाथि फुल बिछ्याएर
कागतको मुटु लिएर
बाटो कुबाटोमा ढुक्छ ।
मेरो माटामा बग्ने पानी
माथिबाट आउँदा
सुन बन्छ
त्यो मेरै आमाको
गर्भ सामर्थ्यको रस हो
ऊ त्यही सङ्गलो पानी धमिल्याएर
माछा मारिरहन्छ
जसरी जङ्गली ब्वाँसोले
छोराछोरीलाई झैँ
फकाइफुल्याई मातृत्वको रस
मृत्युको विष बनेर
र्याल चुहाउँछ
म हेरिरहन्छु ।
अग्लो र फराकिलो
माथ लिएर
पौरख र वीरताले
शिर उँचो गरेर
वंश बसाएको
पुर्खाहरुको नासोलाई
फुल्दै फल्दै गरेका
फल र बिरुवाहरूलाई झैँ
दूषित चोर लगाएर
ऊ हेरिरहन्छ
जसरी चिलले
माउले खतराको इशारा
गर्न नपाई
बलात्कारीलेझैँ
चल्लालाई
झम्टा मारेर प्यास मेट्छ ।
म हेरिरहन्छु
वर्वरिकले झैं
सबै देखिरहन्छु
ऊ एक खिली पानमा
रसाएका बुद्धका आँखालाई
रगत बनाएर पिच्च थुक्छ ।