नीजि अस्पतालमा बिमा कार्यक्रम बन्द हुने संकेत : धमाधम बन्द हुँदै बिलिङ सफ्टवेयर

नीजि अस्पतालमा बिमा कार्यक्रम बन्द हुने संकेत : धमाधम बन्द हुँदै बिलिङ सफ्टवेयर

विराटनगर । बिमा कार्यक्रम अन्तर्गतको करोडौं बक्यौता भुक्तानी नगरेको बिमा बोर्डले उपचारका बिमितको अभिलेखीकरण गरिने बिलिङ सफ्टवेयर समेत बन्द गरिदिएको छ ।

विभिन्न सरकारी तथा नीजि अस्पतालको करोडौं बक्यौता रकम भुक्तानी नदिएको बोर्डले मंगलबार बिहानबाट बिलिङ सफ्टवेयर बन्द गरिदिएको हो । बिरामीको अभिलेखिकरणका निम्त्ति प्रयोग हुँदै आएको सफ्टवेयर एक्कासी बन्द हुँदा उपचाररत बिरामीहरु मारमा परेका छन् । बिमाको भरमा उपचारका लागि अस्पताल भर्ना भएका बिरामीहरु बिलिङ सफ्टवेयर बन्द हुँदा सम्पूणर् उपचार खर्च आफैलेे व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

मोरङको रतुवामाई-८ बस्ने बिष्णुमाया बस्नेत गत साउन १ गते आईतबार अचानक बेहोस भईन् । बोल्न समेत नसक्ने भएपछि छोरा चिरञ्जीवी बस्नेतले राती करिब ११ बजे उनलाई मोरङको बुढीगङ्गास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालभर्ना गरे । उनको उपचार सुरु गरियो । ३ दिनपछि बल्ल होस आयो । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य छ । अस्पतालले पनि डिस्चार्ज दिने प्रक्रिया सुरु गरिसकेको छ । तर, बिमा बोर्डले बिलिङ सफ्टवेयर नै बन्द गरिदिएपछि हाल बिरामीको पछिल्लो ११ दिनको उपचार खर्च बिमित स्वयंम्ले तिर्नुपर्ने भएको छ । उपचार खर्च कसरी जुटाउने पिरले सताउन थालेको बिरामीका छोरा चिरञ्जीवी बस्नेत बताउँछन् । उनी भन्छन्, ‘सुरुमा बिमा छ भनेर अस्पताल भर्ना गरियो । अहिले अस्पतालले सबै पैसा आफै तिर्नुपर्छ भन्छ ।’

उस्तै अवस्था छ, सुनसरीको दुहबी-५ बस्ने लालकृष्ण गौतमको । गत असार २४ गते इटहरीको खनारमा बाइक दुर्घटना परेका उनलाई उपचारका लागि विराट मेडिकल ल्याईयो । स्वास्थ्य बिमा कार्डको भरमा उनलाई अस्पताल भर्ना गरियाो । अस्पतालले पनि बिमा कार्यक्रम अन्तर्गत नै उपचार हुन्छ भनेर पिडित पक्षलाई जानकारी गरायो । २० दिन अस्पताल राखेर खुट्टाको शल्यक्रिया गरेपछि हाल उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनको दाहिने खुट्टामा दुईवटा स्टिल फिट गरिएको छ । तर, बिमाको भरमा अस्पताल ल्याईएका उनको सम्पूणर् उपचार खर्च बिमित स्वयंम्ले व्यहोर्नुपर्दा उनीहरु छाँगाबाट खसे जस्तै भएका छन् । श्रीमती मेनुका दाहाल भन्छिन्, ‘अस्पताल भर्ना गर्दा असार ३२ गतेसम्म भर्ना भएका बिरामीले बिमा कार्यक्रम अन्तर्गतको सबै सुविधा पाउँछन् भन्यो । तर, डिस्चार्ज गर्ने बेलामा सबै उपचार खर्च आफै तिर्नुपर्छ भनिरहेको छ । कताबाट खर्च जुटाउने भन्ने बिषयले पिरोलिरहेको छ ।’

विराट मेडिकल कलेजले २०७४ चैत्र २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार सुरु गरेको थियो । बिमाबाट दैनिक १ हजारदेखि १ हजार ५ सय बिरामीले ओपिडी सेवा लिने गरेका थिए । तर, बिलिङ सफ्टवेयर बन्द गरेर बोर्डले उपचारको ढोका नै बन्द गरिदिएपछि हाल बिरामीहरु बिचल्लीमा परेका छन् । यस्तो अवस्था विराट मेडिकलमा मात्रै नभई प्रदेश १ मा सञ्चालित नोबेल, बि एण्ड सी र कोशी लगायतका ठुला नीजि तथा सरकारी अस्पतालहरुको पनि छ । बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताललाई करिब ९ करोड, नोबेललाई ५५ करोड र बि एण्ड सीलाई ४४ करोड भुक्तानी दिन बाँकी छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत मोरङको विराट मेडिकलले मात्र बिमा बोर्डबाट ४४ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । त्यसमा औषधीको मात्रै १५ करोड भुक्तानी बक्यौता रहेको अस्पतालले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत् सरकारले साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्र उपलब्ध गराउने घोषणा गरेको थियो । तर, नीजि अस्पतालहरुमा पुनः बिमा कार्यक्रम सुरु गर्ने वा नगर्ने बिषयमा कुनै स्पष्ट व्यवस्था गरेन । यसले अन्यौैलको वातावरण सिर्जना भएकाले अस्पतालहरुले धमाधम आकस्मिक, बहिरङ्ग र अन्तरङ्गका सम्पुणर् सेवाहरु स्थगित गरिरहेका छन् ।बक्यौता भुक्तानीको अभावमा औषधी समेत खरिद गर्नसक्ने अवस्था नरहेपछि यसको प्रत्यक्ष मार बिरामीहरुलाई परेको विराट मेडिकल कलेजका प्रशासन प्रमुख प्रमेशराज देवकोटा बताउँछन् । बिमा बोर्डले बक्यौता रकम भुक्तानी गरेसँगै उपचार सेवा पुनः सुचारु हुने उनको भनाई छ । ‘आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले स्वास्थ्य बिमा कार्यक्रम मार्फत् सहज उपचार पाईरहेका थिए । तर, मंगलबार एक्कासी बिमाको विवरण बिलिङ गर्ने सफ्टवेयर नै बोर्डले बन्द गरिदिएपछि जटिलता थपिएको हो,’ देवकोटाले भने, ‘सफ्टवेयर बन्द भएको विषयमा बिमा कम्पनीलाई जानकारी समेत गराईसकेका छौं । तर, हालसम्म कुनै प्रतिक्रिया आएको छैन् ।’

बिमा बोर्डबाट बक्यौता रकम भुक्तानी नहुँदा अस्पतालमाथि ठूलोे आर्थिक भार थपिएको सञ्चालकहरुले बताएका छन् । बक्यौता भुक्तानीको अभावमा औषधी खरिद, स्वास्थ्यकर्मीको तलब र अन्य आन्तरिक खर्च व्यवस्थापनमा ठूलो चुनौती थपिएको अस्पतालहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्