विराटनगर । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको विराटनगर तङ्ग्रिने प्रयासमा रहँदा पछिल्लो समय पुनः संक्रमणको जोखिम बढ्न थालेको छ ।
लकडाउन, निषेधाज्ञा र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगायतका उपाय लगाएपछि न्युनीकरण हुँदै गएको संक्रमणको जोखिम पुनः बढ्न थालेको हो । सीमानाकामा आवश्यक कडार्ईको अभाव र नागरिक स्वयंम् पनि सचेत नबन्दा पछिल्लो समय जोखिम बढ्दै गएको चिकित्सहरुले बताएका छन् । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पछिल्लो ४ दिनमा मात्रै प्रदेश १ मा १५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा साउन ८ गते २५, ९ गते ५२, १० गते ३९ र ११ गते ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईका अनुसार पछिल्लो समय शुन्यतामा पुगेको प्रदेश १ मा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको हो । आवश्यक स्वास्थ्य सर्तकता बेगरै बढेको मानवीय चहलपहल र नेपाल–भारतबिचको दोहोरो आवागमनले जोखिम बढाएको उनी बताउँछन् ।
कोरोनाका सक्रिय संक्रमितहरु बढ्न थालेसँगै पछिल्लो समय मोरङ प्रशासनले पनि सीमानाकामा कडाई र आवश्यक निगरानीका कार्यहरुलाई तीव्रता दिएको छ । संक्रमणको जोखिम बढेसँगै मोरङका सबै स्थानीय तहहरुलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन गरिसकिएको जनाईएको छ । सीमानाकाको दोहोरो आवागमनलाई व्यवस्थित गर्ने, मास्क अनिवार्य गर्ने र एन्टिजेन परीक्षण पुनः सुरु गर्ने निर्णय पनि प्रशासनले गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउँछन् । 'नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत आवश्यक निर्देशन सहित नाकामा निगरानीका निम्त्ति परिचालन गरिएको छ,' उनी भन्छन्, 'थप निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बसेर गरिनेछ ।'
कोरोनाको संक्रमण बढेसँगै मंगलबार मात्रै एक सुचना जारी गर्दै विराटनगर महानगरपालिकाले समेत संक्रमण पहिचान तथा रोकथामको उद्देश्य सहित पिसिआर, स्वाब संकलन तथा एन्टिजेन परीक्षणको कार्यलाई पुनः सुरु गर्ने निर्णय गरेको छ । सिडियो कार्यालय उत्तरको प्रोजक्टको पुरानो अफिसमा परीक्षणको व्यवस्था मिलाईएको महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख डा. विशाल कुमार देवले बताए ।
महानगरले भने अत्यावश्यक कार्यबाहेकको अवस्थामा घरबाहिर ननिस्कन, बढी भिडभाड नगर्न तथा मास्कको प्रयोग अनिवार्य गर्न आम नागरिकलाई आग्रह गरेको छ ।