ज्वरो र स्वासप्रस्वासको समस्याले विराटनगरका अस्पतालमा बालबालिकाको चाप

ज्वरो र स्वासप्रस्वासको समस्याले विराटनगरका अस्पतालमा बालबालिकाको चाप

लक्षण एडिनो भाइरसको जस्तै भएपनि पुष्टि गर्ने छैन ल्याव, क्लिनिकल सिन्ड्रोमको आधारमा औषधी चलाईदै

विराटनगर । विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र स्वास फेर्न असजिलो हुने बालबाविकाको संख्या बढेको छ । अस्पतालमा दैनिक जस्तो यस्ता बालबालिका बिरामी परेर भर्ना भएपनि यसको कारण भने खुलेको छैन ।

कोसी अस्पतालका बाल रोगविशेषज्ञ डा.रामनारायण चौधरीका अनुसार दैनिक २५ जना भन्दा माथिको संख्याका बालबालिका परीक्षणका लागि ल्याईने गरिएको छ । अभिभावकले लिएर आएका यस्ता बालबालिकामा समान प्रकृतिको लक्षण देखिएको छ ।
सामान्य अवस्थाका बालबालिकालाई परीक्षणपछि औषधी दिएर घर पठाउँछौं, डा.चौधरीले भन्नुभयो–स्वासप्रश्वासमा समस्या देखिएकाहरुलाई भर्ना गरेर उपचार गरिरहेका छौं । कोसीको शिशु बहिरङ्ग विभागका ४२ शै्या सबैमा ज्वरो र रुघाखोकीका विरामी भर्ना गरेर उपचार भईरहेको मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले जानकारी दिनुभयो ।

कठमाण्डौमा बालबालिकालाई एडिनो भाइरसको संक्रमण देखिएको छ । उस्तै प्रकृतिका समस्या भएका बालबालिका विराटनगरका अस्पतालमा भर्ना भएका छन् । तर, परीक्षण गर्ने ल्याब नहुँदा एडिनो भाइरस हो वा हैन भन्ने यकिन भने नभएको डा.चौधरीले बताउनुभयो ।
हामीसँग परीक्षण गर्ने ल्याब छैन, बालरोग विशेषज्ञ चौधरीले भन्नुभयो–हामीले भाइरल ज्वरो भनेर उपचार गरिरहेका छौं । यसरी भर्ना भएका बालबालिकामध्ये धेरैमा स्वासप्रश्वासको समस्या देखिएको छ । तर, बालबालिकाको पीसीआर परीक्षण समेत गरिएको छैन । पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आए उनीहरुलाई राख्ने छुट्टै वार्डको व्यवस्था समेत छैन ।

अस्पतालमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने र आँखा रातो भएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको भएपनि आत्तिनु नपर्ने दावी चिकित्सकहरुको छ ।

वरिष्ठ बाल रोग विशेषज्ञ डा.हेमसागर रिमालले एडिनो भाइरसको संक्रमण बालबालिकामा देखिएको बताउनुभयो । उहाँले यस्ता विरामीमा अन्य भाइरसजस्तै संक्रमण भइसकेपछि ज्वरो, रुघाखोकी ल्याउने, पेट दुख्ने, समस्या देखा पर्ने बताउनुभयो । बच्चाहरुमा सुरुमा रुघाखोकी, सिगान बग्ने, आँखा रातो हुने, स्वासप्रश्वासमा समस्या हुने भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका विरामी धेरै रहेका छन् । ‘व्याक्टेरियल ज्वरो हो, भाइरस जस्तो देखिन्छ । एडिनोको कारण नै भएको मान्नुपर्छ, बालरोग विशेषज्ञ चिकित्सक रिमालले भन्नुभयो– पखाला लाग्ने र शरिरमा डाबर आउँने समस्या पनि छन् ।

पछिल्लो समय हात, खुट्टा र मुखमा समेत फोकाहरु आउने समस्या भएका बालबालिकाको संख्या बढ्दै गएको उहाँले बताउनुभयो । यसलाई हेण्ड–फुट–माउथ डिजिज भनिने डाक्टर रिमालले जानकारी दिनुभयो । जसका कारण घाँटीमा घाउ आउने र बालबालिकाले धेरै खोक्ने हुन्छ । उहाँले एडिनो भाईरस हो भन्ने पुष्टि गर्ने ल्याब नभएपछि क्लिनिकल सिन्ड्रोमका आधारमा औषधीहरु सेवन गराउनु पर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

भाइरस हो भने एन्टिवायोटिक औषधि दिनुपर्ने हुन्छ । भाइरल ज्वरो हो भने ज्वरो कम गर्न सहयोगमात्रै गर्ने हो । एडिनो भाइरस संक्रमण भएपछि भाइरल ज्वरो आउने भनाइ छ । रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरस, राइनो, एडिनो लगायतका भाइरसको संक्रमणबाट लाग्ने चिकित्सक बताउँछन् । भाइरल ज्वरो आउँदा सामान्यतया १०० देखि १०३ डिग्रीसम्म ज्वरो आउँछ । अलिअलि नाकबाट पानी आउने, रुघा लाग्ने खालका समस्या हुन्छ ।

एडिनो भाइरसका लक्षण भने ज्वरो आउने, नाकबाट अलिअलि पानी बग्ने, खोकी लाग्ने, बच्चालाई खाना खान मन नलाग्ने, ज्यान दुख्ने, कसैको आँखा रातो हुने कसैकसैलाई झाडापखाला पनि लाग्ने, पेट दुख्ने समस्या हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्