विराटनगरमा प्रहरीले समाएको आठ ट्रक सुपारी इटहरीमा थन्कियो

विराटनगरमा प्रहरीले समाएको आठ ट्रक सुपारी इटहरीमा थन्कियो

विराटनगर । विराटनगरमा प्रहरीले गत साउन ५ गते पक्राउ गरेको आठ ट्रक सुपारी अनुसन्धानमै अलमल देखिएको छ । भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको हो ।
सुपारीको अनुसन्धान प्रक्रिया सुरु गर्न असजिलो हुँदा पक्राउ गर्ने निकाय प्रहरीतर्फ शंका उब्जिएको छ । मोरङ प्रहरीले पक्राउ गर्दा नै प्रक्रिया मिचेको भन्दै अनुसन्धानका लागि बुझाइएको सुपारी खोतल्न समेत सुरु गरिएको छैन । सुपारीमा अहिले राजनीतिक स्वार्थ समेत देखिन थालेको छ । पूर्वका सुपारी किङ्ग झापाका दिपक पोखरेलको सुपारी अड्काएर कसरी अनुचित लिने भन्ने मनसाय मोरङका केहि काँग्रेस नेताहरुमा देखिएपछि झन् गिजोलिएको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्रालय मातहत रहेको राजश्व विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको थियो । त्यसको नकारात्मक प्रभाव अहिले प्रधानमन्त्री कार्यालय मातहतको कार्यालय र अर्थमन्त्रालय मातहतको कार्यलयको कार्यमा विरोधाभाष समेत देखिएको छ ।
राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख तिर्थ खनालले प्रक्रिया संगत निकासी भईसकेको सुपारी प्रहरीले नियन्त्रणमा लिनु नै बद्नियतपूर्ण देखिएको बताउनु भएको छ । उहाँले प्रहरीले बुझाएको सुपारीका सम्बन्धमा उत्पादक, मौज्दात प्रमाणित गर्ने कृषि ज्ञान केन्द्र, उत्पतीको प्रमाणपत्र दिने उद्योग वाणिज्य संघ र जाँचपास गर्ने भन्सार कार्यालय विराटनगरसँग के कस्तो प्रक्रियाबाट आयो भन्ने कुरा बुझ्ने काम भईरहेको जानकारी दिनुभयो ।

कागजातका आधारमा सुपारी भारतीय कस्टमले जाँचपास गरिसकेको देखिएकोले अनुसन्धानका लागि सहज देखिएको छैन । प्रहरीले आठवटा ट्रकमा २ हजार ६७८ बोरा सुपारी नियन्त्रणमा लिइएको थियो । सुपारी बोकेका भारतीय नम्बर यूपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१,यूपी ५० बिटी ७१७७, यूपी ६२ बिटी ८१२१, यूपी ५४ टि ६४२९, यूपी ५० एटी ३१५८ र यूपी ६२ सिटी ०६२७नम्बर प्लेटका ट्रक समेत अहिले नेपालमा अड्किएर बसेका छन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार असार २६ गते एक्स ७०१४ को प्रज्ञापनपत्रबाट २ लाख १४ हजार २४० किलोग्राम सुपारी कलकातास्थित आईसा एक्सपोर्टलाई निकासीका लागि जाँचपास गरिएको थियो । मनकामना ट्रेडर्सले निकासी गरेको उक्त सुपारी झापामा उत्पादन भएको उत्पतीको प्रमाणपत्र, प्लान्ट क्वारेन्टाइनले जारी गरेको पीएससी, सुपारी खेती विकास संस्था झापाको सिफारिसपत्रका आधारमा भन्सार महशुल दरबन्दी अनुसार निकासी योग्य थियो ।
भारतीय कष्टमले विराटनगर भन्सारबाट जाँचपास भएको सुपारी जुलाई २१ तारिखमा २७ लाख ५० हजार भारतीय रुपिँया बुझाएपछि आयात स्वीकृति प्रदान गरेको थियो । उक्त सुपारी मिरगञ्ज पुलमा समस्या भएका कारण सेतुबन्ध नाका भन्टाबारी सुनसरीबाट निकासीको क्रममा बाटोमा थियो ।

नेपाली भूमिमा हुँदै प्रहरीले नियन्त्रणमा लिएर कागजात चेकजाँच गर्नसक्ने भएपनि भारतीय कस्टमले आयात स्वीकृति दिईसकेको सुपारीमा हस्तक्षेप गर्न नमिल्ने खनालको बुझाई छ । खनालले भारतको मीरगञ्ज पुलमा समस्या आएका कारण मात्रै त्यो सुपारी नेपाली बाटोमा रहेको भएपनि वैधानिक रुपमा भारतको भईसकेको बताउनुभयो ।
भन्सार कार्यालयका प्रमुख सापकोटाले भन्सारले कागजात हेरेर निकासी अनुमति दिएको मालवस्तु प्रहरीले नियन्त्रणमा लिएर गम्भीर कमजोरी गरेको बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य संघले झापाको उत्पादन भएको प्रमाणपत्र, कृषि ज्ञान केन्द्र झापाले मौज्दात प्रमाणित गरेको कागजात, प्लान्ट कार्यालय विराटनगरले स्वच्छताको प्रमाणपत्र दिएका आधारमा भन्सारले जाँचपास गरेर निकासी स्वीकृति दिएको बताउनुभयो ।

नेपाल भारत वाणिज्य सन्धी अनुसार नेपालले तेस्रो मुलुकबाट पैठारी गरेको मालवस्तु भारतले आफ्नो देशको बाटो हुँदै पारवहन सुविधा प्रदान गरी सीटीडी प्रमाणपत्रका आधारमा नेपाल पठाउँदै आएको छ । पछिल्लो समय २०७८ पुस २२ गते भारतको मीरगञ्ज पुल क्षतिग्रस्त भएपछि भन्सार विभागको निर्णय अनुसार सुनसरीको भण्टाबारीबाट मालवस्तु आयात–निर्यात हुँदै आएको थियो । दुवै देशका भन्सारले जाँचपास गरिसकेपछि आयात स्वीकृति दिइएको देशको मालवस्तु प्रहरीले पक्राउ गर्नु नेपाल–भारत व्यापार सन्धी विपरित हुने दावी गरिएको छ ।
प्रहरीले पक्राउ गरेको ८ ट्रक सुपारी समेत नेपाल र भारतको भन्सार जाँचपासपछि रि–रुट हुँदै भन्टाबारी नाकाबाट कोलकाताका लागि छुटेको थियो । त्यसलाई भारतको आयातकर्ताको मालवस्तु मानिनु पर्ने हुन्थ्यो ।
अवैध भनेर नियन्त्रणमा लिइएको उक्त सुपारीमा प्रहरीको कारवाही शंकास्पद देखिएको भन्सार कार्यालयका प्रमुख सापकोटाको टिप्पणी छ । भन्सार ऐन २०६४, भन्सार नियमावली २०६४ तथा आर्थिक ऐन २०७९ बमोजिम नै वैधानिक रुपमा निकासी पैठारी भएको सुपारी प्रहरी नियन्त्रण हुँदै राजश्व अनुसन्धान इकाई कार्यालयमा रहनुले नेपाल–भारत व्यापारमा समेत असर पुग्ने देखिएको छ ।
मोरङ प्रहरीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको निर्देशनमा इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको सुपारीमा अनुचित लाभ लिन खोजेको आरोप प्रहरीलाई लागेको छ । भन्सारमा सुपारी क्लियरेन्स एजेन्ट किशोर शाहीले चारदिनसम्म बिना प्रमाण सुपारी रोकेर पैठारीकर्तालाई बारम्बार दवाव दिइएको आरोप लगाउनुभयो । यता मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले शंका लागेर नियन्त्रणमा लिइएको सुपारी अनुसन्धान गर्ने निकायमा बुझाइएपछि प्रमाणका आधारमा छोड्ने की राख्ने भन्ने आफैं निर्णय गर्नुपर्ने बताउनुभयो ।

वैधानिक आउँछ, अवैधानिक जान्छ
विराटनगर नाका हुँदै गत आर्थिक वर्ष एकअर्ब २६ करोड ६६ लाख बराबरको ५ हजार ७४८ टन सुपारी इन्डोनेसियाबाट पैठारी भएको तथ्यांक छ । तर, भन्सार कार्यालयको नाका हुँदै ९० करोड ६ लाख बराबरको २ हजार २४९ टन सुपारी मात्रै निर्यात भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७७-२०७८ मा ७९ करोड ५७ लाख बराबरको ५ हजार ७७७ टन सुपारी आयात भएको देखिन्छ । निर्याततर्फ २० करोड ७२ लाख मूल्य बराबरको एक हजार १६५ टन मात्रै छ ।
यसैगरी मेची भन्सार कार्यालय काकडभिट्टाबाट १५ हजार ३१८ टन सुपारी गत आर्थिक वर्ष आयात भएको थियो । चार अर्ब ३७ करोड एकलाख मूल्यको सपारी आयात भएको हो । त्यसैगरी मेची भन्सारबाट अघिल्लो आर्थिक वर्ष २०७७-२०७८ मा ९९ करोड ९७ लाख मूल्यको ६ हजार ३९१ टन सुपारी आयत भएको देखिन्छ । यसरी वैधानिक रुपमा आयात भएको सुपारी नेपालमा खपत हुन्छ की अवैधानिक ढंगबाट भारत निकासी हुन्छ भन्ने आशंका उब्जने गरेको छ ।

सुपारीमा झेल
सुपारी पक्राउ परेपछि मोरङमा काँग्रेसका केहि नेताले चासो राखेका छन् । तर, भारतीय कस्टमले जाँचपास गरेको सुपारीमा चासो राखेर दुई देशको व्यापारिक सम्बन्धमा समेत आँच ल्याउन खोजिएको आरोप छ । विराटनगरका व्यापारीले समेत यसलाई दुईदेशबीचको व्यापार खल्बल्याउन खोजिएको रुपमा हेरेका छन् । सुपारीमा खेल हुने भएकोले भन्सार जाँचपास भईसकेपनि नेताहरुले झेल गरेर चुनावको खर्च उठाउन खोजेको रुपमा बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्