भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो ।
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ ।
मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोरानाका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ४१९ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । रासस/एएनआई