काँकडभिट्टा–लौकही सडक : नौ घनाबस्तीमा आकाशे पुल र ‘अन्डर पास’

काँकडभिट्टा–लौकही सडक : नौ घनाबस्तीमा आकाशे पुल र ‘अन्डर पास’

झापा । काँकडभिट्टा–लौकही १२० किलोमिटर सडकअन्तर्गत ३७७ संरचना हटाइने भएको छ ।

दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना–ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुनर्वास विशेषज्ञ रविन ढकालले जानकारी दिए । उनले सो सडकखण्डको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनबारे संक्षिप्त जानकारी पनि दिएका थिए ।

बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन् ।

एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने निर्माणकार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ ।

‘एसियन हाइवे स्ट्यान्डर्ड’को बन्ने यो सडकको कुल १२० किलोमिटरमध्ये झापामा ५४.९ किलोमिटर पर्छ । झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आउँदो पुससम्ममा ठेक्का खुल्ने र आउँदो वर्षको सुरुआतदेखि नै निर्माणको काम सुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले जानकारी दिए ।

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । ३०० मिटरभन्दा लामो पुल रहेको ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जंगल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ ।

आयोजनाले काँकडभिट्टा, इँटाभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायत नौ घनाबस्ती भएको स्थानमा आकाशे पुल र ‘अन्डर पास’ निर्माण गरिने जनाइएको छ ।

यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंका अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागीले खानेपानी, विद्युत्, टेलिफोन, ढल निकासलगायत बारेमा जिज्ञासा राखेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्