काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिए । उनले भने, “आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।”
आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ । कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने छ । उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ । यद्यपि आयोगले तालिकामा केही संशोधन हुनसक्ने जनाएको छ ।
आयोग उच्च स्रोतका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।