वीरगञ्जकाे तिलावे नदीमा निर्माण गरिएको पुलको उद्घाटन

वीरगञ्जकाे तिलावे नदीमा निर्माण गरिएको पुलको उद्घाटन

वीरगञ्ज । पर्साको ग्रामीण भेगका जनतालाई लक्षित गरी वीरगञ्ज महानगरपालिका–१७ र १९ जोड्ने तिलावे नदीमा निर्माण गरिएको पक्की पुलको आज उद्घाटन गरिएको छ ।

उक्त पुलको एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले विभिन्न बहाना बनाएर समयमै आयोजनाको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो । मन्त्रालयअन्तर्गत रहेका विभिन्न सडक, खानेपानी, सिँचाइ अन्य पूर्वाधारसहितका राष्ट्रियस्तरका आयोजना समयमै निर्माण सम्पन्न होस् भन्ने उद्देश्यले मन्त्रालयले काम अघि बढाएको मन्त्री राईले बताउनुभयो ।

सोही अवसरमा मन्त्री राईले पर्साको वीरगञ्जस्थित गण्डकदेखि मितेरी पुलसम्मको मेनरोड फराकिलो हुने जानकारी गराउनुभयो । त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ बनाइने उहाँले बताउनुभयो । वीरगञ्जलार्ई ग्रामीण भेगसँग जोड्ने तिलावे पुलको उद्घाटन गर्दै मन्त्री राईले त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको सडकको अतिक्रमण हटाइने बताउनुभयो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री यादवले वन तथा वातावरण मन्त्रालयका कारण अघि बढ्न नसकेकाले विभिन्न आयोजनाका फाइल कानुनबमोजिम समस्या समाधान गरिने बताउनुभयो । लामो समयदेखि वन तथा वातावरण मन्त्रालयमा रोकिएका आयोजनाको फाइल कानुनले मिल्ने भए तत्काल समाधान गरी आयोजनालाई अघि बढाउन सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्सासँग जोडिने सबै सडक निर्माणको कार्यलाई तत्काललाई सञ्चालन गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले ठोरीदेखि माडीसम्मको सडक विस्तारमा रहेको कानुनी अड्चनलाई हटाउँदै कार्य अगाडि बढ्ने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित सो कार्यक्रममा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायतले पुल निर्माणबाट जिल्लावासीको यातायात व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्