सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ मा शनिबार बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन् । चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना गम्भीर घाइते भएका छन् । घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ ।
को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले शनिबार बेलुकी ८:३० बजे ठक्कर दिएको थियो ।
एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।