पाथीभरा क्षेत्रमा ध्यान केन्द्र

पाथीभरा क्षेत्रमा ध्यान केन्द्र

फुङ्लिङ । के तपाईं ध्यान गर्न चाहनुहुन्छ ? ध्यान गर्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यदि ध्यान गर्न चानुहुन्छ भने आउनुहोस् प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र । पाथीभरा क्षेत्रमा ध्यान गरेर जानुहोस् ।

ध्यान गर्न चाहनेका लागि पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरेसँगै अब प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ध्यान गर्न पाइने भएको छ । पाथीभरा क्षेत्रअन्तर्गत माथिल्लो फेदीमा ध्यान केन्द्र निर्माण गरिएको हो । पाथीभरा क्षेत्रमा रहेको घना जङ्गलभित्र ध्यान केन्द्र निर्माण गरिको छ । आवतजावत नहुने र आवाजसमेत नआउने सुनसान क्षेत्रमा ध्यान केन्द्र निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

गत आर्थिक वर्षमा ध्यान केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । पाथीभरा क्षेत्र विकास समितिको ३० लाख र जनश्रमदान चार लाख ३९ हजार छ सय ३० रुपैयाँ गरी जम्मा ३४ लाख ३९ हजार छ सय ३० रुपैयाँ लागतमा ध्यान केन्द्र सम्पन्न भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

पाथीभरा क्षेत्रमा ध्यान गर्न चाहने जोकोहीले ध्यान गर्नसक्ने क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार सात सय ९४ मिटर उचाइमा पाथीभरा धाम अवस्थित छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि १९ किलोमिटर गाडीमार्फत सानो फेदी पुग्न सकिन्छ । सुकेटर विमानस्थलबाट गाडीमा ११ किलोमिटर गएपछि तल्लो फेदी पुग्न सकिन्छ । तल्लो फेदीदेखि पाँच किलोमिटर पदमार्ग हँुदै पाथीभरा धामसम्म पुग्न सकिन्छ । तल्लो फेदीदेखि माथिल्लो फेदीसम्म पुग्न करिब दुई किलोमिटर पर्दछ । माथिल्लो फेदीदेखि करिब ८० मिटर पूर्वजङ्गल हँुदै पाथीभरा ध्यान केन्द्र पुग्न सकिन्छ ।

ध्यान गर्न चाहनेलाई बाहिरको आवाज नआउने गरी ढुङ्गाको गारो र भित्र काठको सिलिङ लगाएको छ । उनीहरूको सहजताका लागि खानेपानी र शौचालयको प्रवन्ध गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । आवश्यक खाद्य तथा अन्य सामग्री आवश्यकपरेमा नजिकै रहेको रहेको माथिलो फेदी बजारमा खरिद गर्न सकिने छ । ध्यान गर्न इच्छुकले ध्यान गर्दा आवश्यक सामग्री भने आफैँले व्यवस्थापन गर्नुपर्नेछ । केन्द्रमा बसेर ध्यान गर्दा कुनै शुल्क लाग्ने छैन । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्