एसिया कपको सुपर–४ मा भारत ६ विकेटले पराजित

एसिया कपको सुपर–४ मा भारत ६ विकेटले पराजित

कुसल मेन्डिस र पाथुम निसान्काले अर्धशतक बनाएपछि श्रीलंकाले मंगलबार राति एसिया कपको सुपर–४ मा भारतलाई ६ विकेटले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । १७४ रनको लक्ष्य श्रीलंकाले एक बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।

सुपर–४ मा श्रीलंकाको यो लगातार दोस्रो जित हो भने भारतको लगातार दोस्रो हार हो । भारत यसअघि पाकिस्तानसँग पनि ५ विकेटले पराजित भएको थियो । श्रीलंकाले भने अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो ।

राउण्ड रोविन लिग प्रणालीमा हुने सुपर–४ मा श्रीलंका ४ अंकका साथ शीर्ष स्थानमा छ । दुई अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ । अंकबिहीन भारत र अफगानिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । श्रीलंकाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । श्रीलंकाले अब अन्तिम खेलमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

गएराति टस हारेर ब्याटिङ गरेको भारतका लागि कप्तान रोहित शर्माले ७२ रन बनाए । शर्माले ४१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । सूर्यकुमार यादवले २९ बलमा एक चौका र एक छक्कासहित ३४ रन जोडे । हार्दिक पाण्डेया र रिषभ पन्तले समान १७ रन जोडे । रविचन्द्रन आश्विनले १५ रन बनाए ।

श्रीलंकाका दिलशान मदुशन्काले तीन विकेट लिए भने चमिका करुणारत्ने र दासुन शानकाले समान दुई विकेट लिए । महीस थिकशानाले एक विकेट लिए ।

१७४ रनको लक्ष्य पूरा गर्नेक्रममा निसान्काले ५२ र मेन्डिसले ५७ रन बनाए । दुई पहिलो विकेटका लागि ९७ रन बनाए । भानुका राजपाक्षे २५ र शानका ३३ रनमा अविजित रहे । राजपाक्षेले १७ बलमा दुई छक्का प्रहार गरे । शानकाले १८ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।

भारतका युजभेन्द्र चाहलले तीन र आश्विनले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्